भक्तपुरका विद्यालयमा वातावरणमैत्री अभियान, शिक्षक–विद्यार्थीलाई अभिमुखीकरण तालिम

भक्तपुर, कात्तिक १६ । “राष्ट्रको लागि दुई घण्टा अभियान”ले भक्तपुर जिल्लाका विद्यालयहरूमा वातावरणमैत्री अभ्यास प्रवर्द्धनका लागि शिक्षक तथा विद्यार्थीलाई लक्षित गर्दै एक दिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ ।

अभियानका अध्यक्ष मधु ढुगेंलका अनुसार पहिलो चरणमा जिल्लाभित्रका छ वटा सामुदायिक र निजी विद्यालय छनोट गरी सो विद्यालयका शिक्षक र विद्यार्थीलाई वातावरण तथा जलवायू परिवर्तनसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको हो ।

उक्त तालिम अर्बन ईबिए प्रोजेक्टको सहकार्यमा सञ्चालन गरिएको हो । तालिम उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरकी प्रमुख कमला ज्ञवालीले वातावरणमैत्री विद्यालय निर्माणको अभियानलाई जिल्लाभरका सबै विद्यालयमा विस्तार गर्न इकाईले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

तालिममा सहभागीहरूलाई विद्यालय परिसरलाई वातावरणमैत्री बनाउन सकिने व्यवहारिक उपायहरूबारे जानकारी दिइयो । त्यस अन्तर्गत कुहिएका फोहरबाट जैविक मल बनाउने, रद्दी कागजका टुक्राबाट नयाँ कागज तयार गर्ने लगायतका सीपसम्बन्धी सत्र सञ्चालन गरिएको अभियानका महासचिव नवराज काफ्लेले जानकारी दिनुभयो।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नंं २ का वडाध्यक्ष सोम प्रधान, अर्बन ईबिए प्रोजेक्टतर्फबाट वातावरणविद् दुर्गा प्रसाद उपाध्याय, डोरकाजी श्रेष्ठ, र चन्द्र पोखरेलले वातावरण र जलवायू परिवर्तनसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

कार्यक्रमका उपाध्यक्ष नरेश रञ्जितका अनुसार पहिलो चरण सफलतापूर्वक सम्पन्न भएपछि दोस्रो चरणमा जिल्लाभित्रका अन्य विद्यालयहरूमा पनि सो अभियान विस्तार गरिने योजना रहेको छ ।

विद्यालय स्तरमै वातावरणप्रतिको सचेतना र व्यवहारिक अभ्यास सुरु गर्न सके दिगो परिवर्तन सम्भव हुने भएकाले अभियान अघि बढाइएको जनाइएको छ ।