दुवाकोट: समुदायको समर्पण र एकताको प्रतीकका रूपमा स्थापित “समुदायका लागि २ घण्टा अभियान”ले निरन्तरता प्राप्त गर्दै १३० औं हप्ता पूरा गरेको छ। प्राज्ञ आदर्श समाजद्वारा विजारोपण गरिएको यो अभियान हाल चाँगुनरायण नगरपालिका–२ को संयोजनमा स्वयंसेवकहरूको सक्रिय सहभागितासहित निरन्तर अगाडि बढिरहेको छ।
वातावरण संरक्षणदेखि सामाजिक सशक्तीकरणसम्मका क्षेत्रमा योगदान पुर्याउँदै आएको यो अभियान हरेक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म सञ्चालन हुँदै आएको छ।
वडा अध्यक्ष तथा अभियान संयोजक सोम प्रसाद प्रधानका अनुसार अभियानले वडा भित्रका सडक, पेटी, मठ–मन्दिर, गल्ली र टोलहरूमा नियमित सरसफाइ कार्य गर्दै आएको छ। वडाभित्रको फोहर व्यवस्थापनका लागि सार्वजनिक स्थलहरूमा डस्टबिनहरू जडान गरिएको छ भने आवश्यकताअनुसार स्थानीय बासिन्दालाई नि:शुल्क वितरण समेत गरिएको छ। साथै, अभियानमार्फत विभिन्न स्थानहरूमा सिसीटीभी जडान गरी निगरानीको व्यवस्था पनि गरिएको उहाँले उल्लेख गर्नुभयो। उहाँका अनुसार, समुदायभित्रका सरोकारवालासँग निरन्तर संवाद र अन्तर्क्रिया गर्दै अभियानलाई अझ सशक्त र प्रभावकारी बनाउने योजना अघि बढाइएको छ।
अभियानका प्रारम्भिक प्रेरक तथा प्राज्ञ आदर्श समाजका अध्यक्ष नवराज काफ्लेले १०० औं हप्तापछि अभियानले सरसफाइ मात्र नभई जनसचेतना र व्यवहारिक शिक्षातर्फ पनि ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँका अनुसार, विद्यालय र विद्यार्थीलाई अभियानमा संलग्न गराई वातावरणीय सचेतना र नागरिक जिम्मेवारीबोध जगाउने प्रयत्न निरन्तर भइरहेको छ।
त्यस्तै, पूर्व वडाध्यक्ष शिवहरि केसीले भन्नुभयो, ”अभियानलाई १३० औं हप्तासम्म निरन्तरता दिन वडाभित्रका विद्यालय, दुवाकोट स्वास्थ्य चौकी, नेपाल रेडक्रस सोसाइटी, नेप्सेम्याक, दुवाकोट प्रहरी प्रभाग, सहकारी संस्था, टोल सुधार समिति र अन्य संघ–संस्थाको उल्लेखनीय भूमिका रहेको छ।”
दीपावलीजस्तो महत्वपूर्ण चाडपर्वको दिन पनि सयौंको उपस्थितिमा १३० औं हप्ताको अभियान अन्तर्गत पाथिभराटोलमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो। सो अवसरमा टोलभित्रको फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउन पाथिभरा टोल सुधार समितिका अध्यक्ष हेमकर्ण तिमल्सिनालाई वडाबाट डस्टबिन हस्तान्तरण गरिएको पूर्व जनप्रतिनिधि मोहन पौडेलले बताउनुभयो।
कार्यक्रममा जनप्रतिनिधि उमेश प्रधान, प्रेम खत्री, नेप्सेम्याक कार्यक्रम संयोजक गोविन्द प्रसाद आचार्य, नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखा, दुवाकोट प्रहरी प्रभाग, पत्रकार होमनाथ कट्टेल, प्राज्ञ आदर्श समाजका सल्लाहकार लोकेन्द्र ढकाल, विभिन्न टोल सुधार समिति र स्थानीय अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम समापनका क्रममा पाथिभरा टोल सुधार समितिका अध्यक्ष हेमकर्ण तिमल्सिनाले सम्पूर्ण सहभागीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै समृद्ध चाँगुनरायण नगरपालिका निर्माणको लक्ष्यअनुसार टोल सुधार समितिको अवधारणालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न अहोरात्र प्रयत्नशील रहने बताउनुभयो।

