काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसलाई रुपान्तरण नगरी अगाडि बढ्न नसकिने बताउनु भएको छ महामन्त्री थापाले शनिबार साझ भिडियो सन्देशमार्फत पार्टीलाई रुपान्तरण नगरी अब अघि बढ्न नसकिने स्पष्ट पार्नुभएको हो ।
“हामीले विगतदेखि नै यही विषय उठायौं, तर टुंगोमा पुर्याउन सकेनौ, यसप्रति कमजोरी स्वीकार्न चाहान्र्छु,”, उहाँले भन्नुभयो । उहाँले अब त्यो कमजोरी दोहोरिन नदिने बताउनुभयो । साथै अबको मार्ग पार्टीको पुनर्गठन र नयाँ महाधिवेशन नै भएको बताउनुभयो ।
उहाँले भदौ २३ र २४ गतेको जनआन्दोलनमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै भन्नुभयो, “म अहिले घाइतेहरुसँग भेट्न जान सकेको छैन । मलाई अफ्ठ्यारो लाग्छ। जबसम्म मैले केही ठोस नतिजा दिन सक्दिनँ, तबसम्म ती परिवारलाई म भेट्न योग्य ठान्दिनँ।”
आन्दोलनको माग सुशासन र भ्रष्टाचारविरुद्धको रहेको भन्दै त्यही माग पूरा गर्न सकिएमा मात्र आन्दोलनकारीप्रति साँचो सम्मान हुने बताउनुभयो । महामन्त्री थापाले २३ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमनको छानबिन हुनुपर्ने माग गर्नुभयो ।
उहाँले २४ गतेको आन्दोलनमा देखिएको आक्रोशसँगै देखिएको घुसपैठप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्नुभयो । कतिपयले आन्दोलनको पवित्र भावनालाई प्रयोग गरेर आफ्ना स्वार्थ पूरा गर्ने काम गरे। अदालतदेखि सिंहदरबारसम्मका आक्रमण नियोजित देखिए, उहाँले भन्नुभयो, ”आन्दोलनमा कसले घुसपैठ गर्यो र किन गर्यो भन्ने छानबिन हुनु जरुरी छ ।”
ृउहाँले २०४६ सालपछि सत्तामा बसेका सबैको सम्पत्ति छानबिन नगर्नुपर्नेमा जोड दिदैं अड्डा, अदालत, प्रशासन, व्यवसायलगायत सबै क्षेत्रको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । राजनीतिक दलमा आबद्ध भएका व्यक्ति र तिनका साझेदारको पनि छानबिन गरेर दोषीलाई कारबाही नगरेसम्म सुशासनको नारा खोक्रो हुने उहाँले बताउनुभयो ।

