भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश बिग्रनुमा भ्रष्टाचारी र गलत प्रवृत्तिका ठेकेदारहरू मात्र नभई तिनीहरूलाई संरक्षण गर्ने शासक पार्टीहरू पनि उत्तिकै दोषी रहेको बताउनु भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मा.वि, ख्वप कलेज र ख्वप कलेज अफ लको आयोजनामा भएको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “यदि सरकार आफैँले भ्रष्टाचारी र विकृत प्रवृत्तिका ठेकेदारहरूलाई कानुनी कारबाही गर्न असफल हुन्छ भने अन्ततः जनताले नै तिनको हिसाबकिताब गर्ने दिन आउनेछ।” राजनीतिक विकृतिको जरा पैसा बाँडेर संगठन निर्माण गर्ने प्रवृत्तिमा रहेको बताउनुभयो । “पैसा बाँडेर समाजवाद आउँदैन, न त क्रान्ति नै सम्भव हुन्छ। त्यसको परिणाम एमाले र कांग्रेसले भोगिसकेका छन्,” उहाँले भन्नुभयो ।
‘देशको सन्तुलित विकासका लागि सांसदहरू काठमाडौँ केन्द्रित भएर घर बनाउनेभन्दा पनि आफ्ना जिल्लामा गई जनताको सेवा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। “देशको विकास सन्तुलित हुनुपर्छ भने सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमै खटिएर काम गर्नुपर्छ”, उहाँले थप्दै भन्नुभयो।
प्रशासनिक संयन्त्रलाई चुस्त र जवाफदेही बनाउनु पर्ने आवश्यकता औँल्याउँनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक पार्टीहरू दृढ नहुनु र जनता सचेत नहुनु नै देश अस्तव्यस्तताको प्रमुख कारण हो। जनतालाई दिएका आश्वासनहरू पूरा नगर्दा आजका शासक दलहरू नै संकटको सामना गरिरहेका छन्।”
क्रान्तिको परिभाषा प्रष्ट पार्दै अध्यक्ष बिजुक्छेँले क्रान्ति भनेको सत्तामा परिवर्तन मात्र नभई विद्यमान व्यवस्था नै उल्ट्याएर नयाँ व्यवस्था स्थापना गर्नु भएको बताउनुभयो । अहिले देशका मुख्य उत्पादन साधन—जस्तै बैंक र उद्योगहरू—केही धनीहरूको हातमा छन्। यदि साँचो अर्थमा क्रान्ति भएको भए ती साधन स्रोतहरू राष्ट्र र जनताको हातमा हुने थिए। तर, त्यो अवस्था आउन अझै धेरै समय लाग्न सक्छ,” उहाँले भन्नुभयो ।
उहाँले सत्तामा पुगेका दलहरूले आफ्ना घोषणापत्रअनुसार काम नगरेको आरोप लगाउँदै भन्नुभयो, “नेपाली कांग्रेसले पहिलो आम निर्वाचनको घोषणापत्रमा ‘समाजवाद हाम्रो टाढाको लक्ष्य हो’ भनेको थियो। एमाले र माओवादीले आफूलाई कम्युनिस्ट भन्छन् तर जनतालाई ठगिरहेका छन्। उनीहरूले सामाजिकीकरण, भूमिसुधार जस्ता नीतिहरूमा वास्तविकता झल्किने गरी काम गरेनन्। त्यसैले, तिनीहरू व्यवहारमा कम्युनिस्ट नै होइनन्।”
राज्यसत्ता केवल सरकार, प्रधानमन्त्री वा राष्ट्रपति नभई प्रहरी, गुप्तचर, प्रशासन, राजदूतजस्ता संयन्त्रहरूसमेत भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यी संयन्त्रहरूले कार्यकारी प्रमुखको निर्देशन पालना गर्न नसकेमा वा नगरेमा, त्यो सरकार व्यवहारमा निष्क्रियसरह हुन्छ।”

