निर्वाचन आयोग समयमै निर्वाचन गराउन तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ – निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोग समयमै, निष्पक्ष, स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गराउन पूर्णतः तयार रहेको स्पष्ट पार्नुभएको छ।

बिहीबार नवनियुक्त गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै आयुक्त भण्डारीले आयोगलाई कामबाट पन्छिने छुट नभएको उल्लेख गर्दै आयोगको निष्ठा र विश्वसनीयतामा कसैले प्रश्न उठाउन नसक्ने गरी आफ्नो दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

उहाँले शान्ति सुरक्षाको अवस्था कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै, यस्तो परिस्थितिमा निष्पक्ष निर्वाचन सम्भव नहुने बताउनुभयो। मुलुकका केही स्थानमा सुरक्षाकर्मीहरू बस्नुपर्ने भवनसमेत नरहेको र कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारीका कार्यालयहरू क्षतिग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै, सरकारले यथाशिघ्र शान्ति सुरक्षाको प्रत्याभूति दिनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो।

आयोगको तयारीबारे जानकारी दिँदै भण्डारीले देशभरका जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयहरू तयारी अवस्थामा पुगिसकेको जानकारी दिनुभयो। आवश्यक सामग्रीहरूको खरिद प्रतिस्पर्धात्मक र पारदर्शी ढंगबाट अघि बढाइने सुनिश्चित गर्दै, त्यो प्रक्रियाले निर्वाचनको गुणस्तर र विश्वासनीयता दुवैमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले कानुनबमोजिम दर्ता भएका सबै राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारहरूलाई स्वतन्त्र रूपमा सहभागी गराउने, प्रचारप्रसार गर्ने र आफ्ना विचार सार्वजनिक गर्न पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।

“काम गर्नबाट पन्छिने छुट कसैलाई छैन,” उहाँले भन्नुभयो, “निर्वाचन आयोग समयमै निर्वाचन सम्पन्न गराउन दृढ छ। हामीले पूर्वतयारी सुरु गरिसकेका छौँ र कर्मचारीहरू सम्पूर्ण रूपमा खटिनुभएको छ। स्वच्छ र मितव्ययी निर्वाचन सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ।”