जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजनीमा ७ सयभन्दा बढी सवारी साधन जलेर नष्ट

काठमाडौं: जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा भएको आगजनीबाट करिब ७ सय सवारीसाधन पूर्ण रूपमा नष्ट भएको पाइएको छ । राष्ट्रसेवक कर्मचारी संगठन नेपालले संकलन गरेको विवरण अनुसार २५० भन्दा बढी चार पाङ्ग्रे सवारीसाधन र ४५० भन्दा बढी दुई पाङ्ग्रे मोटरसाइकल जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

संगठनका अनुसार सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालय सहित ३५ वटा कार्यालय परिसरमा रहेका गाडीमा क्षति पुगेको हो । सबैभन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र संघीय संसद सचिवालयका सवारी साधनमा बढी क्षति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयमा रहेका कुनै पनि सवारी साधनमा क्षति पुगेको छैन ।

सिंहदरबारमै रहेका करिब २० मोटरसाइकल चोरी भएको र केही चार पाङ्ग्रे सवारीसाधन बाहिर लैजाने प्रयास समेत भएको पाइएको संगठनका अध्यक्ष शरणकुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आसपासका वर्कसपमा काम गर्ने मेकानिक चोरी गर्नका लागि सिंहदरबारमा प्रवेश गरेको आशंका गरिएको छ ।

संगठनले भदौ २६ गतेदेखि प्रधानमन्त्री कार्यालय सहित सबै मन्त्रालय र निकायमा रहेका सवारीसाधनको क्षतिको विवरण संकलन सुरु गरेको थियो । पाँच दिन लगाएर विवरण संकलन गरिएपछि सो तथ्यांक सार्वजनिक गरिएको हो ।