चाँगुनारायाण, १७ भदौ — चाँगुनारायण नगरपालिका अन्तर्गतका विभिन्न वडामा सञ्चालनमा आएका हाटबजारहरू प्रभावकारी बन्दै गएका छन् । हाल वडा नं ४ र ६ मा हाटबजारहरू सन्चालनमा रहेका छन् । निकट भविष्यमानै १, ३, ७ तथा ८ वडामा पनि हाटबजार संचालनमा आउने नगरप्रमुख जीवन खत्रीले जानकारी दिनु भयो ।

वडा नं १ मा भने दशैं अघि नै हाटबजार संचालनमा ल्याउने तयारी गरिएको छ । कृषकहरुलाई विषादीरहित उत्पादनमा प्रोत्साहन गर्दै बजार विस्तारका लागि हाटबजारलाई प्राथमिकतामा राखिएको नगरप्रमुख खत्रीले बताउनु भयो ।
अर्गानिक उत्पादनको माग बढ्दो रहेको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले विभिन्न वडामा हाटबजार विस्तार गरेको हो । कृषकहरूलाई विषादीरहित उत्पादनतर्फ प्रोत्साहन गर्न तालिम, आवश्यक प्रविधिमा पहुँच लगायतको कृषि शाखामार्फत व्यवस्था गरिएको छ ।

हाटबजारमा स्थानीय अर्गानिक उत्पादनको खरिदबिक्री उल्लेखनीय रूपमा वृद्धि भएको वडा नं ४ का अध्यक्ष रोज बहादुर तामाङ्गले बताउनु भयो । वडा नं ४ मा करिब एक महिना अघि मात्र हाटबजार सन्चालनमा आएको हो । स्थानीय कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफुलहरुको प्रवद्र्धनमा हाटबजार फलदायी बनेको उहाँको भनाई छ ।
नगरपालिकामा सबैभन्दा सुरुवातमा वडा नं ६ मा हाटबजार सुरु भएको हो । वडा नं ६ मा मण्डनदेउपुर नगरपालिका तथा विभिन्न संघसंस्था समेतको सहकार्यमा हाटबजार संचालनमा रहेको हो ।

कृषकहरुलाई उत्पादनमा प्रोत्साहन गरिरहेको भएपनि उत्पादित सामाग्रीको बजार नभएको अवस्थामा करिब २ वर्षअघि हाटबजार सुरु गरिएको वडा नं ६ का अध्यक्ष धन बहादुर लामाले बताउनु भयो । विगतमा कृषकहरुले होटल– होटलमा गएर उत्पादित सामाग्री बेच्नु पर्ने बाध्यता थियो । कृषकहरुले उचित मूल्य पनि नपाएको अवस्था रहेकोमा हाटबजार संचालनमा आएपछि कृषकहरु लाभान्वित बनेका हुन् ।

किसानहरूलाई आफ्ना उत्पादन प्रत्यक्ष रूपमा उपभोक्तासमक्ष पु¥याउने हाटबजार माध्यम बनेका छन् । हाट बजारले स्थानीय कृषकहरु आर्थिक रुपमा सबल बन्दै गएका छन् । पछिल्लो समय हाटबजारहरु पर्यटकको आकर्षणको केन्द्रबिन्दु समेत बन्दै गएका छन् ।

यद्यपि वडा नं ९ मा सुरु गरिएको हाटबजार भने हालका लागि स्थगित गरिएको छ । स्थानीय उत्पादनलाई बजार सुनिश्चित गर्न उपयुक्त स्थानको अभावले तत्काललाई स्थगित गरिएको वडा नं ९ का अध्यक्ष गणेश त्यातले जानकारी दिनु भयो । सबैलाई पायक पर्ने स्थानमा बजार खोजेर छिट्टै फेरि सञ्चालनमा ल्याउने तयारीमा रहेको उहाँको भनाई छ ।

स्थानीय हाटबजार नगरको आर्थिक विकास, कृषि आधुनिकीकरण र जनस्वास्थ्य प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास गरिएकामे छ । वडास्तरमा देखिएको सक्रियता र नगरपालिकाको दीर्घकालीन योजनाका कारण स्थानीय कृषकहरुमा टेवा पुग्ने विज्ञहरु बताउँछन् ।
