चाँगुनारायण–८ मा विपन्न र दलित समुदायका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु

चाँगुनारायण (सुडाल): चाँगुनारायण नगरपालिका वडा नं. ८ मा विपन्न तथा विपन्न दलित समुदायलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको छ ।

नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा अभियानलाई थप प्रभावकारी र सबै नागरिकसम्म पुर्याउने उद्देश्यसहित वडा कार्यालयले मासिक रूपमा स्वास्थ्य बीमा फाराम संकलनको काम सुरु गरेको हो । प्रत्येक महिनाको वडास्तरीय बैठकको निर्णयअनुसार परिवारहरूको नामावली सार्वजनिक गरी उनीहरूलाई पूर्ण रूपमा निःशुल्क स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराइने भएको छ ।

अभियानमार्फत वडा नं. ८ का विपन्न परिवार र दलित समुदायलाई स्वास्थ्य उपचारमा सहज पहुँच दिलाउन, स्वास्थ्य सुरक्षाको अधिकार सुनिश्चित गर्न र समुदायमा स्वास्थ्य सचेतना बढाउन वडा कार्यालय सक्रिय बनेको हो ।

अभियानले वडाका आर्थिक रूपमा कमजोर र दलित परिवारहरूलाई स्वास्थ्य सेवामा सहजता पु¥याउने वडाध्यक्ष जनक भट्टराईले विश्वास व्यक्त गर्नु भयो । सबै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको उहाँको भनाई छ ।

राष्ट्रिय परिचयपत्र वा नागरिकताको प्रमाणपत्र र बालबालिकाको जन्मदर्ताको प्रमाणपत्र पेश गरी स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न सकिनेछ ।