चाँगुनारायण, भदौ १० – नेपाल सरकारको भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासकर्ताहरूलाई पुनः एकपटक निवेदन दिन अन्तिम मौका दिएको छ। यसै सन्दर्भमा चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र यस्ता व्यक्तिहरूलाई तोकिएको समयभित्र निवेदन दिन विशेष आग्रह गरेको छ।
आयोगले साउन ३० गते प्रकाशित अन्तिम सूचनामार्फत सम्बन्धित व्यक्तिहरूलाई ३५ दिनभित्र निवेदन बुझाउन अनुरोध गरेको छ। सूचनाअनुसार आयोगबाट अघिल्लो चरणमा छुट भएका वा आयोग, समिति तथा कार्यदलमार्फत काम अझै बाँकी रहेका व्यक्तिहरूले यो अन्तिम मौका प्रयोग गर्न पाउनेछन् ।
प्रमुख प्रशासनिक अधिकृत मोहन कुमार श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “साउन ३० गते भूमि समस्या समाधान आयोग, काठमाडौंद्वारा प्रकाशित अन्तिम सूचनाअनुसार नगर क्षेत्रभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बासोबासीहरूले नगर कार्यालयको सिफारिससहित निवेदन बुझाउनुपर्नेछ।”
सूचनाअनुसार आवेदन दिने अन्तिम म्याद असोज ४ गतेसम्म तोकिएको छ। आवेदकहरूले वडा कार्यालयबाट सिफारिस लिई नगरपालिकामा निवेदन बुझाउनु पर्नेछ।
नगरपालिकाले नगरवासीहरूलाई सूचना छिटोभन्दा छिटो बुझ्न र आवश्यक कागजातसहित निवेदन पेस गर्न आग्रह गरेको छ। सूचना प्रकाशनको प्रतिलिपि पनि वडा कार्यालयहरूमा पठाइएको जानकारी गराइएको छ।
