चाँगुनारायण (खरीपाटी), साउन २९ — वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का बोर्ड पदाधिकारीहरूको टोलीले चाँगुनारायण नगरपालिका क्षेत्रमा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यक्रमहरूको स्थलगत निरीक्षण गरेको छ।

टोलीलाई चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री र प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले नगरपालिकाको कार्यालय परिसरमा स्वागत गर्नु भएको थियो ।

नगर प्रमुख खत्रीले एन्फोले विगतदेखि नै नगर समृद्धिमा उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले स्थानीय सरकार, निजी क्षेत्र तथा विकास साझेदारबीचको समन्वय र सहकार्यबाट मात्र समृद्ध नगर निर्माण सम्भव हुने धारणा राख्नुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाका संयोजक सुरेन्द्र लामिछानेले एन्फोले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूको बारेमा विस्तृत प्रस्तुति दिनु भएको थियो ।

टोलीले नगरपालिका क्षेत्रअन्तर्गत वडा नं. ६ स्थित तौथली आधारभूत विद्यालय, वडा नं ८ को जीतपुर खानेपानी तथा सरसफाइ आयोजना, वडा नं. ९ को कार्यालय, तथा हालसालै पुनर्निर्माण सम्पन्न नासाखु ढुङ्गेधाराको निरीक्षण गरेको थियो। साथै, वडा नं. ९ मा वडा कार्यालयबाट टोलीलाई विशेष स्वागत गरिएको थियो।

वडा नं. ९ का अध्यक्ष गणेश त्यात, कार्यपालिका सदस्य कमला भारती गिरी, र वडा सदस्य रवीन बासुकलाले एन्फोका कार्यक्रमहरूप्रति प्रशंसा व्यक्त गर्दै वडामा रहेका ऐतिहासिक सम्पदाहरू कुँवा, धारा, फल्चा र शिलालेखहरूको संरक्षण, पुनर्निर्माण तथा सुधारका लागि थप सहकार्यको आवश्यकता औल्याउनुभयो।

टोलीमा एन्फोका बोर्ड अध्यक्ष राजीव जोशी, कार्यकारी निर्देशक भावना शर्भा, बोर्ड सदस्यहरू तथा परियोजनामा संलग्न कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

चाँगुनारायण नगरपालिकामा खानेपानी, सरसफाइ, स्वच्छता तथा सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय सरकार र विकास साझेदारबीच सहकार्यलाई थप सुदृढ गर्ने विश्वास लिइएको छ।









