चाँगुनारायण (खरीपाटी), साउन २८: बच्चालाई आमाको दुधको प्रतिस्थापनमा बजारमा पाइने सामग्रीको बिक्री–वितरणमा चाँगुनारायण नगरपालिकाले यस वर्ष थप कडाइ गर्ने भएको छ। नेपालमा पूर्ण स्तनपानको दर घट्दो क्रममा रहेकाले नगरपालिकाले यो कदम चालेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययनअनुसार सन् २०११ मा पूर्ण स्तनपानको दर ७० प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर ५६ प्रतिशतमा सीमित भएको छ। यही पृष्ठभूमिमा पूर्ण स्तनपानको दर बढाउन प्रतिस्थापन सामग्रीको प्रयोग नियन्त्रण गर्ने निर्णय लिइएको स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवालले जानकारी दिनुभयो।

आमाको दुध नै बच्चाको लागि सबैभन्दा पौष्टिक आहार रहेको चिकित्सकहरु बताउँछन् । आमाको दुधले रोगसँग लड्ने क्षमता बढाउने र बच्चालाई निरोगी राख्ने काम गर्छ। तर पछिल्लो समय विभिन्न कारण देखाएर स्तनपानको अभ्यास घट्दै गएकाले नगरपालिकाले जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकतामा राख्दै आएको छ।
बच्चा जन्मिनेबित्तिकै आउने ‘बिगौती दुधमा भिटामिन ए प्रशस्त प्रोटिन र आवश्यक पोषकतत्वहरू पाइने भएकाले यो बच्चाको पहिलो खोपसरह लाभदायक हुन्छ। यसले रोगप्रतिरोधात्मक क्षमता बढाउने, पहिलो दिसा बाहिर निकाल्ने र जन्डिसको जोखिम कम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताउनु भयो ।

स्तनपान जीवनको सुरुवातमै हुने सबैभन्दा महत्वपूर्ण अभ्यास हो। तर परम्परागत गलत मान्यताका कारण जन्मेको बच्चालाई स्तनपान सुरु गर्नु अघि मह, घिउजस्ता पदार्थ चटाउने चलन अझै पनि कायम छ, जुन स्वास्थ्यका लागि हानिकारक छ।
जीवनरक्षा, वृद्धि, विकास तथा आमाबच्चाबीचको स्नेह वृद्धिका लागि पूर्ण स्तनपान नै सबैभन्दा प्रभावकारी उपाय रहेको विज्ञहरु बताउँछन् । पहिलो ६ महिनासम्म मात्र आमाको दुध खुवाइए बच्चामा भिटामिन ‘ए’ को कमी हुँदैन र दीर्घकालीन स्वास्थ्य लाभ प्राप्त हुन्छ।



