चाँगुनारायणमा साप्ताहिक हाट बजार सुरु, नगर प्रमुख खत्रीद्वारा शुभारम्भ, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा

चाँगुनारायण (भक्तपुर), साउन २४ : चाँगुनारायण नगरपालिका वडा नंं ४ स्थित चाँगुनारायको पुरानो बर्स पार्कमा साप्ताहिक हाट बजार सुरु गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख जीवन खत्रीले हाट बजारको औपचारिक रुपमा शुभारम्भ गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख खत्रीले नगरका सबै ९ वटै वडामा हाट बजार सुरु गर्ने योजना अघि बढिसकेको जानकारी दिनुभयो। स्थानीय उत्पादन प्रवर्द्धन गर्दै पर्यटनसँग जोड्न यस्तो बजार प्रभावकारी हुने उहाँको विश्वास छ।

“बजारलाई दीगो र व्यवस्थित बनाउन नगरपालिकाले आवश्यक सम्पूर्ण सहयोग गर्नेछ,” उहाँले भन्नुभयो

हाट बजारले स्थानीय कृषक, साना व्यवसायी तथा हस्तकला उत्पादकहरूलाई आफ्ना सामग्रीहरू प्रदर्शन र बिक्री गर्ने अवसर प्रदान गरेको छ।

वडाध्यक्ष रोज बहादुर तामागंका अनुसार हाट बजार प्रत्येक शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिनदेखि नै बजारमा उल्लेख्य संख्यामा व्यवसायी र उपभोक्ताहरूको उपस्थिति देखिएको थियो।

बजारमा फलफूल, तरकारी, च्याउ, अदुवा, अचार, हस्तकला सामग्री, घरेलु उत्पादनहरू र परम्परागत परिकारहरूको बिक्री गरिएको छ। पर्यटन व्यवसायसँग जोडिएका स्थानीयहरूका अनुसार हाट बजारले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्थानीय जीवनशैली, उत्पादन र खानपान नजिकबाट अनुभव गराउने अवसर प्रदान गर्नेछ ।

चाँगुनारायण मन्दिरमा आउने पर्यटकहरू बजारमा पुगेर स्थानीय उत्पादन अवलोकन र खरिद गर्न सक्नेछन् । उद्घाटन कार्यक्रममा वडा नंं ३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल, वडाका जनप्रतिनिधिहरु, बुद्धिजीवी, ब्यवसायी तथा स्थानीयबासीको सहभागिता रहेको थियो ।