शैक्षीक क्षेत्रको विकास तथा विस्तारका लागि लगानी बढाउँदै लगेका छौ : मेयर खत्री

चाँगुनारायण (दुवाकोट), साउन २२ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि नगरपालिका शिक्षामा निरन्तर लगानी बढाउँदै गएको बताउनु भएको छ ।

दुवाकोटस्थित ऋतम्भरा विद्यालयमा कक्षा ११ सञ्चालनको औपचारिक उद्घाटन गर्नुहुँदै मेयर खत्रीले देशको भविष्य निर्धारण गर्ने विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन विद्यालयहरूले अध्ययनको सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

“भोलीको देशका कर्णधार विद्यार्थी हुन्। उनीहरूलाई सक्षम र जिम्मेवार नागरिक बनाउने कार्य विद्यालयको कर्तव्य हो,” उहाँले भन्नुभयो, “यसका लागि शैक्षिक पूर्वाधार, पाठ्यक्रम तथा वातावरण सुधार आवश्यक छ, जसमा नगरपालिका सधैं साथ दिन तयार छ।”

नगरप्रमुख खत्रीले समुदायिक तथा संस्थागत दुवै प्रकारका विद्यालयबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिइने स्पष्ट पार्दै नगरपालिकाले शिक्षा क्षेत्रमा विभेद नगरी समान अवसर उपलब्ध गराउने नीति अवलम्बन गरिरहेको बताउनुभयो ।

भक्तपुर जिल्लाका चारवटै नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकामा श्रीकृष्ण बहुमुखी क्याम्पस र चाँगुनारायण माविमा पूर्वदेखि नै कक्षा ११ र १२ साथै कलेज तहको अध्ययन हुँदै आएको भए पनि यसपटक निजी क्षेत्रको ऋतम्भरा विद्यालयले पहिलोपटक कक्षा ११ सञ्चालन थालेको हो।

“शिक्षा समितिको अध्यक्षका नाताले म यो कुरामा गर्व गर्छु कि अब हाम्रो नगरपालिकामा पनि निजी स्तरबाट कक्षा ११ सुरु भएको छ,” उहाँले भन्नुभयो, “भक्तपुर, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकामा जस्तै अब चाँगुनारायणमा पनि उत्कृष्ट विद्यालय, कलेज र एकेडेमी स्थापना गर्न नगरपालिकाले अनुकूल वातावरण तयार पारेको छ।”

मेयर खत्रीले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ वा कलेज तह सञ्चालन गर्न चाहने अन्य विद्यालयलाई आवश्यक सहयोग गर्न नगरपालिकाले खुला आव्हान गरेको जानकारी पनि गराउनुभयो । साथै, उहाँले सबै विद्यालयलाई विद्यार्थी तथा अभिभावकको विश्वास जित्ने किसिमको गुणस्तरीय शिक्षामा समर्पित हुन आग्रह गर्नुभयो ।