चाँगुनारायण (भक्तपुर), साउन २२ — चाँगुनारायण नगरपालिकाले नेपाली सेना ईएमई पोलिटेक्निक महाविद्यालयसँग शैक्षिक सहकार्य गर्दै प्राविधिक शिक्षामा छात्रवृत्तिको अवसर प्रदान गर्ने ७ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
नगरपालिकाको तर्फबाट नगरप्रमुख जीवन खत्री र प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, तथा महाविद्यालयको तर्फबाट प्राविधिक प्रमुख सेनानी अनुप डंगोलले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको हो ।
समझदारी अनुसार चाँगुनारायण नगरपालिकाबाट डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कार्यक्रमका लागि छनोट हुने प्रत्येक विषयमा १/१ जना विद्यार्थीलाई ५०/५० प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने गरी पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ।

त्यस्तै, नेपाली सेना ईएमई पोलिटेक्निक महाविद्यालयले दुवै विषयका लागि चाँगुनारायण नगरपालिकालाई थप कोटा उपलब्ध गराउने सहमति समेत भएको छ।
महाविद्यालयले आवेदन खुल्ला गर्ने समयमा नगरपालिकाले आवश्यक सूचना प्रवाह गरी, अध्ययनका लागि ४ जना विद्यार्थीलाई छात्रवृत्तिको लागि छनोट गरी पठाउनुपर्ने व्यवस्था गरिएको छ।

