चाँगुनारायण (भक्तपुर), साउन १८ । चाँगुनारायण नगरपालिकाको पशुपन्छी विकास शाखाले गत आर्थिक वर्षमा कुल बजेटको ७७.५० प्रतिशत खर्च गर्न सफल भएको छ । नगरपालिकाको आफ्नै स्रोत, संघीय र प्रदेश सरकारबाट हस्तान्तरण भएको बजेटको प्रभावकारी प्रयोगसँगै पशुसेवा प्रवर्द्धनका लागि सञ्चालन गरिएका १८ मध्ये १५ वटा कार्यक्रम पूर्ण रूपमा सम्पन्न भएका छन्।
४ हजार ९८२ पशुमा स्वास्थ्य सेवा, १८ हजार ९९० खोप
‘एक वडा, एक पशु स्वास्थ्य शिविर’ अभियान अन्तर्गत ९ वटै वडामा आयोजित शिविरबाट गाई, भैंसी, बाख्रा, कुकुर तथा बिरालो गरी ४ हजार ९८२ पशुमा सेवा प्रदान गरिएको छ। यस अभियानबाट १ हजार ७ जना कृषक प्रत्यक्ष लाभान्वित भएका छन्।



त्यस्तै, एफएमडि, पिपिआर र आईएसडी जस्ता रोगविरुद्ध १८ हजार ९९० पशुमा खोप लगाइएको हो। सडक आसपास देखिने सामुदायिक कुकुरहरूलाई लक्षित गर्दै रेबिजविरुद्धको खोप र बन्ध्याकरण सेवा ४०८ कुकुरमा प्रदान गरिएको छ।









उत्कृष्ट कृषकलाई सम्मान, च्यापकटर वितरण
पशुपालन क्षेत्रका उत्कृष्ट ११ कृषकलाई ७ विधामा सम्मान गरिएको छ। त्यस्तै, किसानलाई २ हजार २५० किलो हिउँदे घाँसको बीउ तथा ३९ हजार ६५० बिरुवा निःशुल्क वितरण गरिएको छ। लागत सहभागितामा २५ वटा च्यापकटर र ४ वटा गोठ सुधार कार्यक्रम पनि सञ्चालन गरिएको छ ।




आधुनिक उपकरणमार्फत वैज्ञानिक परीक्षण सेवा
खरिपाटीमा रहेको पशु सेवा केन्द्रमा सेन्ट्रीफ्युज मेशिन, माइक्रोस्कोप, हेमाटोलोजिकल एनालाइजरजस्ता उपकरणहरू खरिद गरी पशु स्वास्थ्य परीक्षण थप वैज्ञानिक र प्रभावकारी बनाइएको छ।
यो सेवाले पशु रोगको पहिचान, समयमै उपचार तथा गुणस्तरीय सेवा सुनिश्चित गरेको शाखाले जनाएको छ।
संघीय प्रदेश सरकारको सहकार्यमा थप प्रभावकारी सेवा
संघीय सरकारको ‘एक पालिका, एक भेटेरिनरी डाक्टर’ कार्यक्रमअन्तर्गत चिकित्सक नियुक्त भई वर्षभर सेवा दिइएको छ। कृत्रिम गर्भाधान कार्यक्रम अन्तर्गत ८ हजार ३४५ पशुमा सेवा पुर्याइएको छ। ‘गाई र भैंसी पकेट विकास कार्यक्रम’बाट ४५ जना कृषक लाभान्वित भएका छन्।
प्रदेश सरकारले सञ्चालित दूध उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट ४० कृषकलाई वार्षिक उत्पादनअनुसार प्रति लिटर ५ रुपैयाँका दरले अनुदान प्रदान गरिएको छ।
रेबिज पुष्टि भएसँगै तत्काल खोप अभियान
२०८२ साउन २ गते ताथलीमा अज्ञात कुकुरले पाँच जना स्थानीयलाई टोकेको घटनापछि गरिएको परीक्षणमा रेबिज पोजिटिभ देखिएपछि तत्काल खोप अभियान सुरु गरिएको हो। यसअघि पनि रोग पहिचानका लागि संकलित नमुनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिंदै आएको शाखाले जनाएको छ।




बाँकी कार्यक्रम प्राथमिकतामा
शाखाका अनुसार बाँकी रहेका कार्यक्रमहरू आगामी वर्षमा प्राथमिकताका साथ अगाडि बढाइनेछ। पशुपालन क्षेत्रका किसानलाई अझै प्रभावकारी सेवाको पहुँचमा पुर्याउन योजनाबद्धरूपमा काम जारी रहने प्रतिबद्धता समेत जनाइएको छ।
