खरीपाटी । चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित खानेपानी उद्योगहरूलाई नगरपालिकाले पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको अध्यक्षतामा बसेको समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका खानेपानी उत्पादन कम्पनीलाई पानी बिक्री वितरण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
गत सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकृष्ण श्रेष्ठसहितको अनुगमन टोलीले झौखेलमा सञ्चालित खानेपानी उत्पादन कम्पनीहरूमा आकस्मिक अनुगमन गरेको थियो । टोलीले भक्तपुर नेचुरल ड्रिङ्किङ्ग वाटर प्रा.लि, एक्वाराज पानी, ओके मिनरल वाटर प्रा.लि, झौखेल उच्च वेभरेज प्रा.लि जय छुमागणेश र कर्णाली मिनरल वाटर प्रा.लिका पानी उद्योगमा स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा भक्तपुर नेचुरल वाटर प्रा.लि बाहेकका कम्पनीलाई पानी बिक्री वितरणमा रोक लगाएको हो । कम्पनीले सोमबार भित्र ल्याब टेस्ट रिपोट नगरपालिकामा पेस गरेपछि पुन: पानी परिक्षण गरेपछिमात्रै बिक्री खुल्ला गर्न सकिने उपप्रमुख बुढाथोकीले बताउनुभयो ।
अनुगमनका क्रममा कम्पनीहरूमा सरसफाईको लापर्वाही, गुणस्तरहीन पानी जार, नगरपालिकामा दर्ता नहुँदा तथा नविकरण नगरेको समेत पाइएको थियो । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार सात दिनभित्र दर्ता नविकरण गर्न निर्देशन दिइएको छ भने उल्लंघन भएमा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।
उपप्रमुख बुढाथोकीले भन्नुभयो, “झौखेलमा उत्पादन भएको पानी काठमाडौ उपत्यकाभरि बिक्री हुने भएकाले यस्तो गुणहस्तरहीन पानी विक्री वितरण गर्न अनुमति दिन सकिंदैन । अब अन्य उद्योगहरूमा पनि अनुगमन कडाइका साथ गर्ने पनि बुढाथोकीले बताउनुभयो ।


