खरीपाटी: : चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले २०८२ को भ्रमण वर्ष मनाइरहँदा पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको बताउनुभएको छ । चाँगुनारायण मन्दिरदेखि नगरकोटसम्म आन्तरिक तथा विदेशी पर्यटकको उपस्थिति उत्साहजनक रहेको उहाँले बताउनुभयो ।
बैशाख महिनाबाट सुरु भएको भ्रमण वर्षको अवधिमा १० लाख आन्तरिक र १ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य रहेको जनाउँदै उहाँले उक्त लक्ष्य प्राप्ति गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
नगरपालिका–७ स्थित वागेहिटीको त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा साउन महिनामा सुरु भएको एक महिने शिव पुराण र विष्णु पुराण ज्ञान महायज्ञको उद्घाटन गर्दै प्रमुख खत्रीले नगरको पर्यटकीय विकासमार्फत आर्थिक समृद्धि हासिल गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
“नगरकोट भ्रमण वर्षले सबै नगरवासीलाई उत्साह र उमङ्गसहित विकासमा जोडेको छ,” उहाँले भन्नुभयो, “अब नगर हाम्रो, तिम्रो भन्ने होइन, हामी सबैको हो भन्ने भावनाले काम गर्नुपर्छ।”
नगर प्रमुख खत्रीले चाँगुनारायण क्षेत्रका मठ–मन्दिर, सम्पदाहरूको संरक्षणमा नगरपालिका निरन्तर सक्रिय रहेको उल्लेख गर्दै त्रिलोकेश्वर मन्दिर निर्माणदेखि अन्य सम्पदाको प्रवर्द्धनमा पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“सामुदायिक हितका लागि म सधैं तयार छु,” उहाँले भन्नुभयो, “चुनावमा जनतालाई दिएको वचन बिर्सिएको छैन, तर लगानी त्यहीँ हुनुपर्छ जहाँ समुदायको वास्तविक लाभ होस्।”
उहाँले विगतमा बनेका तर समुदायको अपनत्व नपाएका भवनहरू खण्डहरमा परिणत भएको उदाहरण दिँदै भविष्यमा गरिने प्रत्येक लगानी परिणाममुखी र जनअपेक्षाअनुकूल हुनुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख खत्रीले नगर प्रमुखको जिम्मेवारी सम्हालेयता कुनै पनि नगरवासीसँग विभेद र पक्षपात नगरेको उल्लेख गर्दै वडा नं १ देखि ९ सम्म सबैलाई एक परिवारको रूपमा हेरेर सामूहिक हितका लागि काम गर्ने दृष्टिकोणमा आफू अगाडि बढिरहेको बताउनुभयो ।
