खरीपाटी : चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पछिल्लो समय नगरपालिकाले हरेक क्षेत्रमा फड्को मार्दै गएको तर नगरबासीमाझ प्रचार प्रसार भने गर्न नसकिएको बताउनु भएको छ ।

बिहीबार नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच आधिकारिक अनलाईन चाँगुनारायण समाचार पोर्टनको औपचारिक शुभारम्भ गर्नुहुँदै नगर प्रमुख खत्रीले नगरपालिकाले गरेका राम्रा काम जनतामाझ पुर्याउन नसकिएको बताउनुभयो ।
नगरप्रमुख खत्रीले आफ्नो नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपछि धेरै क्षेत्रमा उल्लेख्य सुधार भइरहेको बताउनुहुँदै गलत प्रचार र नकारात्मकताले राम्रा काम ओझेलमा परेको बताउनुभयो ।

नगरपालिका वायुगुणस्तरको सुधारका लागि कार्यविधि बनाएर अघि बढ्ने पहिलो पालिका रहेको, पहिलो पटक नगरबासीलाई निशुल्क रगत र अक्सिजन उपलब्ध गराउने कार्यको शूरुवातलगायत धेरै क्षेत्रमा नमूना र उदाहरणीय कार्य गर्दै गइरहेको नगर प्रमुख खत्रीले स्पष्ट पार्नुभयो । कार्यक्रममा नगरप्रमुख खत्रीले नगरले सधैं नगरबासीको आवश्यकताको क्षेत्रमा र हकहितमा नै काम गरिएको बताउनुभयो ।

‘हामीले निर्वाचित भएर आएबाट नै जनहितका लागि कार्यहरु गर्दै आएका छौं । भौतिक पूर्वाधारको विकास सँगसँगै सामाजिक र मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौं । तर, प्रचारप्रसार खासै नभएका कारण हामीले नगर र वडा स्तरबाट गरेको काम नगरबासीसमक्ष पुगेको भने छैन’, नगरप्रमुख खत्रीले भन्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले नगरपालिकाबाट प्रवाह हुने सेवा र विकास गतिविधिको बारेमा सही, सत्य, तथ्य सूचना दिन अनलाईन पोर्टल फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

नगरपालिकाले आधिकारिक रुपमा शूरु गरिएको चाँगुनारायण समाचारको सम्पादकको जिम्मेवारी लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील तथा राष्टिय समाचार समिति (रासस)मा कार्यरत अनुभवी पत्रकार रमेश गिरीलाई दिइएको छ । पत्रकार गिरीले आफ्नो क्षमताले भ्याएसम्म नगरपालिकाका सूचनाहरु आम नगरबासीमाझ पुर्याउन लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

