खरीपाटी : नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्ड निर्देशिका अनुसार सेवा मूल्याङ्कन मापदण्डमा जिल्लामै उत्कृष्ठ छालिङ्ग र नगरकोट सहितका स्वास्थ्य चोकीहरु सम्मानीत भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरि जिल्ला भरिमा उत्कृष्ठ सातभित्र पर्न सफल स्वास्थ्य चौकीहरुलाई सम्मान गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले उत्कृष्ठ हुन सफल छालिङको तर्फबाट चाँगुनारायण नगरपालिका वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकालाई सम्मान गर्नुभयो ।

साथै दोस्रो हुन सफल चाँगुनारायण वडा नंं ६ स्थित नगरकोट स्वास्थ्य चौकीको तर्फबाट वडाध्यक्ष धन बहादुर लामाले सम्मानपत्र ग्रहण गर्नुभयो ।

त्यस्तै, जिल्लामै तेस्रो तथा सूर्यविनायकमा उत्कृष्ठ हुन सफल बालकोट स्वास्थ्य चौकीको तर्फबाट सूर्यविनायक नगरपालिका वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्कीले सम्मानपत्र ग्रहण गर्नुभयो । त्यस्तैगरि, मध्यपुर ठिमी नगरपालिका स्तरीय उत्कृष्ट बोडे स्वास्थ्य चौकीलाई समेत सम्मान गरिएको थियो ।

नगरपालिकाभित्र स्वास्थ्य सेवा क्षेत्रमा भएको यो उपलब्धिले समग्र स्वास्थ्य पूर्वाधार सुदृढीकरण तर्फको नगरपालिकाको प्रतिबद्धता र स्थानीय स्वास्थ्य संस्थाहरूको समर्पण झल्काउँछ। यस्ता मूल्याङ्कन कार्यक्रमहरूले सेवाको गुणस्तरमा सुधार ल्याउने तथा प्रतिस्पर्धात्मक भावनाबाट अझ राम्रो सेवा दिन सबै स्वास्थ्य चौकीहरूलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।


