चाँगुनारायण नगरपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत गोमाले एसईईमा ल्याईन् ४ जिपीए, भक्तपुरका सर्वोत्कृष्टभित्र पर्न सफल, नगरप्रमुख खत्रीले घरमै पुगेर दिए बधाई

सुडाल: भक्तपुरको चाँगुनारायण नगरपालिकाको एक सामुदायिक विद्यालयलमा अध्ययनरत सामान्य परिवारकी गोमा श्रेष्ठले माध्यामिक शिक्षा परीक्षाएसईईमा सवोत्कृष्ठ ४ जिपीए ल्याएपछि नगरप्रमुख जीवन खत्रीले घरमै पुगेर बधाई दिनु भएको छ । इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठले नगरपालिकाको वडा नं ८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी थिईन् ।

सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भईन् भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बन्न सफल भएकी हुन् ।

आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि शिक्षा प्रति देखाएको लगाव प्रेरणादायक रहेको भन्दै नगरप्रमुख खत्रीले उनको प्रशंशा गर्नु भयो । गोमा श्रेष्ठले बिहानैदेखि ईट्टा सुकाउने काममा आमाबुबासँगै हातेमालो गर्दै पढाइलाई निरन्तरता दिएकी थिइन्। उनी अध्ययनरत विद्यालय चाँगुनारायण नगरपालिकास्थित सामुदायिक विद्यालय हो।

सो विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार गर्दै आएको छ। शिक्षकहरूको सक्रियता, विद्यालय व्यवस्थापन समितिको पारदर्शिता र विद्यार्थीमैत्री वातावरणका कारण विद्यालयबाट उत्कृष्ट नतिजा आउने क्रम बढ्दो छ। गोमाको सफलता त्यसैको सशक्त प्रमाण बनेको छ।

सो सफलतापछि चाँगुनारायण नगरपालिकाका नगरप्रमुख खत्री स्वयं गोमाको घरमै पुग्नु भएको थियो। उहाँले गोमा र उनका परिवारलाई बधाई दिँदै मेधावी विद्यार्थीलाई नगरपालिकाबाट आवश्यक सहयोग गरिने प्रतिवद्धता जनाउनु भयो। सामुदायिक विद्यालयप्रति जनविश्वास बढ्दै गएको उल्लेख गर्दै नगर प्रमुख खत्रीले यस्ता सफलता नगरको शैक्षिक अभियानमा थप उर्जा दिने बताउनु भयो ।

त्यस्तै, श्रेष्ठलाई भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ पढाउने घोषणा समेत गर्नुभएको छ ।