चाँगुनारायण नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ नगर घोषणा (फोटोफिचरसहित)

खरीपाटी: चाँगुनारायण नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सबै मापदण्ड पूरा गरेपछि मंगलबार एक कार्यक्रम गरि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चित नगरपालिका बन्नका लागि सम्बन्धित स्थानीय तहले आफ्ना सबै लक्षित बालबालिकाहरूलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पर्ने सबै खोप समयमै, पूर्ण रूपमा र गुणस्तरीय तरिकाले शतप्रतिशत प्राप्त गरेको हुनुपर्ने लगायत प्रावधान छ । ती सबै सूचक पूरा गर्दै ९ वटै वडा पूर्ण खोप सुनिश्चित भएपछि नगरपालिकालाई पनि घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जीवन खत्रीले पूर्ण खोप सुनिश्चित घोषणा गर्नुहुँदै यसलाई वार्षिक रुपमा निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

नगरपालिकालाई घोषणा गरिएसँगै जिल्ला खोप समन्वय समितिको तर्फबाट नगरपालिकालाई जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख अञ्जना खडकाले नगर प्रमुख खत्रीलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

साथै नगर प्रमुख खत्रीले ९ वटै वडाका स्वास्थ्य केन्द्रका प्रमुखहरुलाई पनि पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

नगर प्रमुख खत्रीेले सबै स्वास्थ्य चौकी प्रमुख तथा स्वास्थ्य स्वयसेविकाहरुलाई खोप सुनिश्चितता र दिगोपनाको लागि आगामी दिनमा बालबालीकाहरुलाई सबै खोप पूरा गरि मन, बचन र कर्मले लाग्ने प्रतिबद्धतासहितको सपथ समेत खुवाउनुभएको थियो ।

सो अवसरमा नगर प्रमुख खत्रीले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले उदाहरणीय कार्य गर्दै आएकोमा स्वास्थ्य केन्द्र तथा स्वास्थ्य स्वयमसेविकाहरुप्रति आभार प्रकट गर्नुभयो ।

चाँगुनारायण नगरपालिका अन्तर्गतका सबै ८ वटा स्वास्थ्य चौकीहरूमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्ड निर्देशिका अनुसार सेवा मूल्याङ्कन गर्दा जिल्लामै छालिङ्ग स्वास्थ्य चौकी उत्कृष्ठ र नगरकोटले दोस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

प्रमुख खत्रीले जनताले अपनत्व ग्रहण गरेर साथ दिए मात्रै नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन प्रभावकारी हुने चर्चा गर्नुहुँदै आफूले नेतृत्व समालेको तीन वर्षमा स्वास्थ्य क्षेत्रमा निशूल्क रगत र अक्सिजन वितरण गर्नेदेखि नगर अस्पताललाई ब्यवस्थित र प्रभावकारी रुपमा सेवा प्रवाह गर्दैै आइरहेको बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अञ्जना खड्काले चाँगुनारायण नगरपालिकाले कार्यालयसँग सहकार्य तथा समन्वय गर्दै स्वास्थ्य क्षेत्रमा अगाडि बढ्दै आएको बताउनुभयो । साथै उहाँले पूर्ण खोप अभियानलाई दिगोपना दिन पनि आग्रह गर्नुभयो ।

सोही अवसरमा डब्लु.एच.ओ प्रतिनिधि डा.सागर शाक्यले नगरपालिकाले पूर्ण खोप सुनिच्चिततालाई निरन्तरता दिने प्रतिबद्धता दिनु सुखद पक्ष रहेको भन्दै प्रशंशा गर्नु भयो ।

चाँगुनारायण स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवाल, चाँगुनारायण नगर अस्पतालका मेसु डा. अर्जुन कार्की, बलराम तिमल्सेनाले सबै वडालाई पूर्ण खोप सुनिश्चतता र दिगोपनाका सूचक पूरा भइसक्दा नगरपालिकालाई भने घोषणामा केहि ढिलाई भएको बताउनु भएको थियो ।

कार्यक्रममा वडा नं २ का वडाध्यक्ष सोम प्रधान, वडा नंं ४ का वडाध्यक्ष रोज बहादुर तामागंलगायत जनप्रतिनिधिहरु, स्वास्थ्य चौकी प्रमुख तथा स्वास्थ्यकर्मीहरु र स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।