चाँगुनारायणमा भ्रमण वर्ष लक्षित २४ किलोमिटर लामो वृहत् साईकलिङ कार्यक्रम, सयौको सहभागिता, स्थानीयको भब्य स्वागत (फोटोफिचर)

भक्तपुर, ताथली — नगरकोट भ्रमण वर्ष मनाइरहेको चाँगुनारायण नगरपालिकामा शनिबार पर्यटन प्रवर्द्धनको लक्ष्यसहित वृहत् साईकलिङ तथा हाईकिङ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम वडा नं. ९ ताथलीस्थित पर्यटकीय तथा ऐतिहासिक सम्पदाहरूको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित गरिएको हो।

दक्षिणकाली युवा समूहको आयोजनामा सम्पन्न कार्यक्रमको प्रमुख आकर्षण ब्रम्हायणी मन्दिर परिसरबाट सुरु भएको २४.५ किलोमिटर लामो साईकलिङ यात्रा थियो, जसमा सयौं सहभागीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले युवाहरू आफ्नो क्षेत्रको विकासमा सक्रिय हुन आवश्यक रहेकोमा जोड दिनुभयो। भ्रमण वर्ष अन्तर्गत यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

साईकलिङ तथा हाईकिङ रुटमा ताथलीका प्रमुख धार्मिक, ऐतिहासिक र सांस्कृतिक स्थलहरू — ब्रम्हायणी मन्दिर, चुनदेवी डाँडापाटी गणेश, भैरव मन्दिर, महाकाली मन्दिर, रिद्दिसिद्धि मन्दिर, बासुकी थान, तैकाबु गणेश, भीमेश्वर मन्दिर, कार्यविनायक, आदिनाथ, कल्पेश्वर महादेव, ताथली गढी, लगायतका थुप्रै सम्पदाहरू समेटिएको थियो। सहभागीहरुलाई ठाउँठाउँमा स्थानीयहरुले स्वागत गरेका थिए ।

विश्व साईकल यात्री पुष्कर शाहको विशेष उपस्थितीमा साईकलिङ गरिएको थियो । उद्घाटन कार्यक्रममा नगरकोट भ्रमण वर्ष २०८२ का विज्ञ डा. घनश्याम खतिवडाले भ्रमण वर्ष अवधिभर कार्यतालिका नै बनाएर कार्यक्रम आयोजना हुने जानकारी गराउनुभयो ।

कार्यक्रममा वडा नंं ९ का वडाध्यक्ष गणेश त्यातले साईकलिङ र हाईकिङ कार्यक्रमले ताथलीको प्रचार प्रसारका साथै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण सहयोग मिलेको बताउनुभयो ।

दक्षिणकाली समूहका अध्यक्ष सुरेशराज गिरीले ओझेलमा रहेको ताथलीलाई चिनाउन र यहाँ लुकेका ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरुको उजागर गरी स्थानीय पर्यटनलाई टेवा पुर्याउन कोशेढुंगा शावित भएको बताउनुभयो । कार्यक्रममा दक्षिणकाली समूहको सक्रिय सहभागिता रहेको थियो ।

स्थानीय सम्पदाहरूको संरक्षण र प्रचार नै दिगो पर्यटन विकासको आधार रहेकाे कार्यक्रम संयोजक दिपक खड्काले बताउनु भयाे । आफ्नै क्षेत्रमा साईकल यात्रा गर्नु अविस्मरणीय रहेको उहाँले अनुभव सुनाउनु भयो ।

चाँगुनारायण नगरपालिकाले भ्रमण वर्ष २०८२ मनाईरहदा स्थानीय युवाहरुसमेत जागरुक भएर पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् । यस्तो कार्यक्रमले चाँगुनारायण क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वलाई उजागर गर्नुका साथै युवाहरूको सक्रिय सहभागिताले स्थानीय पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धनबहादुर लामा, वडा नं ७ का वडा अध्यक्ष श्यामकृष्ण नायजु, कार्यपालिका सदस्य कमला गिरी तथा अन्य विभिन्न संघसंस्था, समूहलगायतको उपस्थिति रहेको थियो ।