
खरीपाटी : चाँगुनारायण नगरपालिका अन्तर्गतका सबै ८ वटा स्वास्थ्य चौकीहरूमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्ड निर्देशिका अनुसार सेवा मूल्याङ्कन कार्य सम्पन्न गरिएको छ। उक्त मूल्याङ्कनमा उल्लेखनीय परिणामहरू प्राप्त भएका छन्।

छालिङ्ग स्वास्थ्य चौकीले ९१ स्कोर हासिल गरी भक्तपुर जिल्ला स्तरमै पहिलो स्थान प्राप्त गर्न सफल भएको छ भने नगरकोट स्वास्थ्य चौकीले ९० स्कोर सहित दोस्रो स्थान हात पारेको छ।

त्यस्तै ताथली स्वास्थ्य चौकीले ८८ स्कोर सहित चौथो स्थान प्राप्त गरेको छ भने दुवाकोट २ स्वास्थ्य चौकीले ८७ स्कोर सहित पाँचौँ स्थानमा परेको छ।

यसै क्रममा बागेश्वरी स्वास्थ्य चौकीले पनि ८५ स्कोर सहित उत्कृष्ट प्रदर्शन गरेको छ। मूल्याङ्कन अनुसार ८ वटा स्वास्थ्य संस्थामध्ये ५ वटा चौकीहरूले हरियो श्रेणीको अति उत्तम स्कोर हासिल गर्दै आफूलाई अबल व्यवस्थापनमा स्थापित गरेका छन्।

बाँकी ३ वटा स्वास्थ्य चौकीहरूले पनि राम्रो व्यवस्थापनसहित राम्रो स्कोर प्राप्त गरेका छन्।

स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार स्कोर रंग कोडिङ प्रणालीमा ८५५ भन्दा माथिको हरियो रंगको स्कोरलाई अति उत्तम सेवा प्रवाह गर्ने स्वास्थ्य संस्था मानिन्छ, जुन चौकीहरूमा सेवा, व्यवस्था र पूर्वाधारमा राम्रो सुधार देखिएको संकेत हो।

नगरपालिकाभित्र स्वास्थ्य सेवा क्षेत्रमा भएको यो उपलब्धिले समग्र स्वास्थ्य पूर्वाधार सुदृढीकरण तर्फको नगरपालिकाको प्रतिबद्धता र स्थानीय स्वास्थ्य संस्थाहरूको समर्पण झल्काउँछ। यस्ता मूल्याङ्कन कार्यक्रमहरूले सेवाको गुणस्तरमा सुधार ल्याउने तथा प्रतिस्पर्धात्मक भावनाबाट अझ राम्रो सेवा दिन सबै स्वास्थ्य चौकीहरूलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।











