
खरीपाटी : चाँगुनारायण नगरपालिकाकाले खानेपानीको दिगो समाधान लागि नगरस्तरीय खानेपानी ब्यवस्थापन बोर्ड गठन गर्ने भएको छ । वडामा बढीमा तीन वटा खानेपानी उपभोक्ता समिति रहने गरि बोर्ड गठन गर्न लागिएको नगर प्रमुख जीवन खत्रीले बताउनुभयो ।

नगरपालिका क्षेत्र भित्रका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको अनुगमन पश्चातको आयोजित समिक्षा बैठकमा सम्बोधन गर्नुहुँदै नगर प्रमुख खत्रीले चाँडै खानेपानी बोर्ड गठन हुने जानकारी दिनुभयो ।

‘खानेपानी बोर्ड गठनका लागि ऐन र कार्याविधि निर्माण भइसकेको छ’, नगर प्रमुख खत्रीले भन्नुभयो, ‘आउँदो नगरसभाको सत्रौ अधिवेशनबाट निर्देशीका निर्माणका लागि स्वीकृती लिई छिटो भन्दा छिटो गठन गर्ने गरि अगाडि बढ्छौ ।’

नगरबासीलाई खानेपानीको पहुँचमा पुर्याउन र शुद्ध खुवाउन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु समायोजना गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।

नगरभित्र हाल १२६ वटा खानेपानी तथा सरसफाई उपभोक्ता दर्ता भए पनि धेरैले नवीकरण नगरेको र निस्कृय रहेको पाइएको उल्लेख गर्नुहुँदै नगर प्रमुख खत्रीले अब एउटा वडामा बढीमा तीन वटा खानेपानी तथा सरसफाई उपभोक्ता समिति बनाउने गरि गृहकार्य भइरहको बताउनुभयो ।

नगरक्षेत्रभित्र खानेपानीका दिगो समाधानका लागि नगरपालिका लागिपरेको उल्लेख गर्नुहुुँदै माथिल्लो निकायसँगै विभिन्न दातृ संघसंस्था र विश्व बैंकसँग पनि खानेपानी आयोजनाको विषयमा कुराकानी भइरहेको जानकारी पनि गराउनुभयो ।

नगरभित्र खानेपानी आयोजनाका ठूला आयोजना पनि संचालन रहेको र नगरपालिकाले पनि वर्षमा ४ करोडको हाराहारीमा बजेट छुट्याउँदै आएको बताउनुहुँदै अब यसलाई ब्यवस्थित बनाउँदै एकीकृत रुप्मा आयोजना संचालन गरिने बताउनुभयो ।

उपभोक्ता समितिहरुको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुहुँदै मेयर खत्रीले नगरपालिका सदैव हातेमालो गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले खानेपानी उपभोक्ता समितिहरु क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उपभोक्ता समितिहरुले कानूनी प्रक्रिया पूर्याए मात्र राज्यबाट उपलब्ध सेवा सुविधा पाइने भएकाले त्यसतर्फ सचेत हुन र जागरुक भई अगाडि बढ्न आग्रह पनि गर्नुभयो ।

खानेपानी, सरसफाई तथा , स्वच्छता शाखा (वास) प्रमुख सुरेन्द्र लामिछानेले अनुसार नगर भित्र ७८ वटा मूलको र ५० वटा डिप बोरिङबाट खानेपानी वितरण भइरहेको छ । नगरपालिकामा खानेपानी गुणस्तर परिक्षण मिनी प्रयोगशाला सञ्चालनमा रहेको छ ।

चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकीय भवनमा सुरु गरिएको प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार परिक्षण गर्ने गरिएको छ । भक्तपुर जिल्लामा रहेको चार नगरपालिकाहरुमध्ये चाँगुनारायण नगरपालिका खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला संचालनमा ल्याउने पहिलो नगरपालिका समेत हो । कार्यक्रममा वडा नंं ९ का वडाध्यक्ष गणेश त्यात, सामाजिक विकास महाशाखा प्रमुख निला घिमिरे, युवा क्रियाकलप समाज (सोया) का प्राविधिक हरि श्रेष्ठलगायतले पनि बोल्नु भएको थियो ।