जेनेभा, स्वीट्जरल्याण्ड— चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले स्वीट्जरल्याण्डको जेनेभामा आयोजित “बिपद् जोखिम न्युनीकरणका लागि विश्व मञ्च २०२५” मा सहभागिता जनाउनु भएको छ। सो अन्तर्राष्ट्रिय सम्मेलन यही जुन २ देखि ६ तारिखसम्म संयुक्त राष्ट्रसंघीय बिपद् जोखिम न्युनीकरण कार्यालय (UNDRR) तथा स्वीस सरकारको संयुक्त आतिथ्यतामा सम्पन्न भएको हो।

“हर एक दिन महत्वपूर्ण छ, आजैबाट उत्थानशीलताको लागि काम गरौं” भन्ने नाराका साथ आयोजित सम्मेलनमा नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाले अपनाउँदै आएको समुदाय–आधारित बिपद् जोखिम न्यूनीकरण अभ्यासबारे अनुभव आदान–प्रदान गर्नुभएको थियो।

सम्मेलनमा विश्वभरका प्रतिनिधिहरूसँग सहकार्य, नवप्रवर्तन तथा प्रभावकारी अभ्यासहरूबारे ज्ञान आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको नगरप्रमुख खत्रीले बताउनुभयो। चाँगुनारायण नगरपालिका आफ्नै स्रोत–साधन तथा क्षमताको भरमा, समुदायको सक्रिय सहभागिता र सरोकारवालासँगको सहकार्यमा बिपद्–प्रतिकार क्षमतायुक्त र उत्थानशील नगरपालिका रहेको समेत नगरप्रमुख खत्रीले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

स्वीट्जरल्याण्ड भ्रमणकै क्रममा नगरप्रमुख खत्रीले बर्नस्थित स्वीस रेडक्रसको केन्द्रीय कार्यालयमा “सहारा परियोजना” को विस्तृत प्रस्तुति दिनुभएको थियो। यो परियोजना नेपाल रेडक्रस सोसाइटी र चाँगुनारायण नगरपालिकाबीचको साझेदारीमा, स्वीस रेडक्रसको सहयोगमा सञ्चालित सामाजिक सुरक्षा तथा समावेशी कार्यक्रम हो। परियोजनाका उद्देश्य, हालसम्मका उपलब्धि र आगामी रणनीतिबारे उहाँले स्वीस प्रतिनिधिहरूलाई जानकारी गराउनुभएको थियो।

त्यसैगरी, नगरप्रमुख खत्रीले स्वीट्जरल्याण्डको उमेरमैत्री शहर ‘बील’ स्थित सामुदायिक केन्द्रको अवलोकन भ्रमण गर्नुभएको थियो। वृद्धमैत्री संरचना, सामाजिक समावेशिता तथा समुदायस्तरमा प्रवाह गरिने सेवाहरूको व्यवस्थापन सम्बन्धी अभ्यासहरू अध्ययन गर्दै, यस्ता अन्तर्राष्ट्रिय अभ्यासहरू चाँगुनारायण नगरपालिकाको आगामी कार्ययोजनामा समावेश गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

स्वीट्जरल्याण्ड भ्रमणलाई नगर प्रमुख खत्रीले ‘नगरकोट भ्रमण वर्ष’ लाई प्रवर्द्धन गर्ने अवसरका रूपमा पनि उपयोग गर्नुभएको छ। उहाँले स्वीस सरकारका नीति–निर्माता, पर्यटक व्यवसायी तथा सरोकारवालाहरुलाई नगरकोट भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनुभएको छ। करिब एक साता लामो भ्रमण सम्पन्न गरी नगरप्रमुख खत्री आगामी मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

भ्रमण टोलीमा चाँगुनारायण नगरपालिकाका विपद् ब्यवस्थापन तथा साहरा परियोजना संयोजक दिनेश थापा पनि सहभागि हुनुहुन्छ ।


