जेनेभा: चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले स्वीजरल्यान्ड भ्रमणका क्रममा त्यहाँका विभिन्न प्रतिनिधिहरूलाई नगरकोट भ्रमणको औपचारिक निम्तो दिनुभएको छ।

हाल ‘नगरकोट भ्रमण वर्ष’ भव्य रूपमा मनाइँदै गरेको सन्दर्भमा, नगरप्रमुख खत्रीले स्वीजरल्यान्डका नीति निर्मातादेखि पर्यटन व्यवसायीहरूसम्मलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्नुभएको हो।

भ्रमणले चाँगुनारायण क्षेत्रको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवाहलाई थप सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्वीजरल्यान्ड भ्रमणकै सिलसिलामा नगरप्रमुख खत्रीले बर्नस्थित स्वीस रेडक्रसको केन्द्रीय कार्यालयमा ‘सहारा परियोजना’को प्रस्तुति पनि दिनुभएको थियो। यो परियोजना नेपाल रेडक्रस र चाँगुनारायण नगरपालिकाको साझेदारीमा स्वीस रेडक्रसको सहयोगमा सञ्चालित सामाजिक सुरक्षा तथा समावेशी कार्यक्रम हो।

उहाँले परियोजनाका उद्देश्य, प्राप्त उपलब्धि र आगामी योजना बारे विस्तृत रूपमा जानकारी गराउनुभएको थियो। त्यसैगरी, नगरप्रमुख खत्रीले स्वीजरल्यान्डको उमेरमैत्री शहर ‘बील’ को सामुदायिक केन्द्रको अवलोकन भ्रमण गर्नुभएको छ।

वृद्धमैत्री संरचना, सामाजिक समावेशिता र सामुदायिक सेवाहरूको व्यवस्थापनका अभ्यासहरूमाथि अध्ययन गर्दै उहाँले त्यस्ता सफल अभ्यासहरू चाँगुनारायण नगरपालिकाको आगामी वार्षिक कार्ययोजनामा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

नगरप्रमुख खत्रीले भ्रमणबाट प्राप्त ज्ञान र अनुभव आफ्नो नगरको सामाजिक र संरचनागत विकासमा उपयोग गर्ने बताउनुभएको छ। नगरकोट भ्रमण वर्ष र अन्तर्राष्ट्रिय सहकार्यको यो पहल चाँगुनारायण नगरपालिकाका लागि दीर्घकालीन रूपमा प्रभावकारी हुने विश्वास गरिएको छ।
भ्रमण टोलीमा चाँगुनारायण नगरपालिकाका विपद् ब्यवस्थापन तथा साहरा परियोजना संयोजक दिनेश थापा पनि सहभागि हुनुहुन्छ ।

