नगरकोट सडक कालोपत्रे गर्ने कार्य तीब्र गतिमा अगाडि बढाइयो, एक महिनाभित्र सम्पन्न हुने, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठसहितको टोलीद्धारा निरीक्षण (तस्विरमा हेर्नुहोस)

नगरकोट: चाँगुनारायण नगरपालिकाले १५ किलोमिटर भक्तपुर–नगरकोट सडक खण्ड पुनर्निर्माण एवं स्तरोन्नति गर्न सुरु गरेको छ ।

लामो समयदेखी अलपत्र रहेको सो सडकखण्ड निर्माण गर्न संघ तथा प्रदेश सरकारसंग पटक पटक आग्रह गर्दा पनि बन्ने छाँटकाट नदेखिएपछि अन्तत नगरपालिका आफैले आन्तरिक स्रोतबाट सडक पुनर्निर्माण एवं स्तरोन्नति गर्न सुरु गरेको हो ।

सो सडक खण्ड पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको छ । यो वर्षलाई नगरकोट भ्रमण वर्षका रुपमा मनाईरहेको अवस्थामा सो सडकखण्ड नै बाधक बनेपछि सडक बनाउन नगरपालिका आफै लागेको हो ।

नगरपालिकाले १७ करोडमा ठेक्का आह्वान गरेकोमा भ्याटसहित १३ करोड ५० लाखमा सम्झौता भई कार्य शूरु भएको हो । सम्झौता भएको एक सातामै निर्माण ब्यवसायीले कामको गति तीब्र रुपमा अगाडि बढाइरहेको छ ।

सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, प्रशासन अधिकृत सुरज पौडेल, पूर्वाधार शाखा प्रमुख विश्वजीत होना, वडा नंं ६ का कार्यवाहक वडाध्यक्ष हरिप्रसाद लामिछाने, वडा सदस्य आरती लामासहित जनप्रतिनिधिहरुको टोलीले निर्माणस्थलको निरीक्षण गर्नु भएको छ । आइतबार गडगडेबाट शूरु गरिएको कालोपत्रे दुवै तर्फ गरि ५ सय मिटर सम्पन्न गरिएको छ ।

मौसमले साथ दिएको खण्डमा एक महिनाभित्र सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यद्यपी निर्माण ब्यवसायीलाई सो सडक खण्डको काम सम्पन्न गर्न असोज सम्मको म्याद तोकिएको छ ।

सो सडकखण्ड बन्ने काम सुरु भएपछि नगरकोट भ्रमण वर्ष लाई थप टेवा पुग्ने विश्वास लिइएको छ ।