चाँगुनारायण नगरका ९ वटै वडामा कानूनी सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन, ७ सय भन्दा बढी लाभान्वित

खरीपाटी: चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा कानूनी सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । गत ४ जेठबाट शुरु गरिएको सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

नगरपालिकाको न्यायिक समितिको आयोजनामा भएको कार्यक्रम वडा नंं १ देखि वडा नंं ९ वडासम्म सञ्चालन गरिएको न्यायिक समितिका सयोजक रमेश बुढाथोकीले बताउनुभयो ।

समिति संयोजक बुढाथोकीका अनुसार तालिममा न्यायिक समितिको क्षेत्राधिकार, न्याय निरुपण प्रक्रिया, लैंगिक हिंसा, महिला हिंसा, सम्बन्ध विच्छेद, माना चामल, अंश, मानव वेचविखन लगायतका विविध विषय समावेश गरिएको थियो ।

नगरपालिकाको ९ वटै वडाका जनप्रतिनिधि, समाजसेवी, प्रहरी प्रतिनिधि, शिक्षक तथा विद्यार्थी प्रतिनिधि गरी करिव ७ सय जनालाई कानूनी सचेतना प्रदान गर्ने गरी वडा स्तरीय कानूनी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा कानूनी सल्लाहकार किरण न्यौपाने, कृष्णमुरानी खनाललगायतले तालिम प्रदान गर्नु भएको थियो ।

वडा नं ५ का वडाध्यक्ष जयन्द्र खडकाले नगरपालिकाले निर्माण गरेको ऐन, कानुन बारे जानकारी गराउँदा यसले सेवा प्रवाहमा सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।