खरीपाटी: चाँगुनारायण नगरपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता शाखाको आयोजना र दियालो टेकनोलोजीको समन्वयमा ‘खानेपानी व्यवस्थापनका चुनौती र समाधान’ विषयक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।

नगरभित्रका खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनधिहरुको सहभागितामा शुक्रबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको उद्घाटन नगर प्रमुख जीवन खत्रीले गर्नु भएको थियो ।

सो अवसरमा सम्बोधन गर्नुहुँदै नगर प्रमुख खत्रीले खानेपानी उपभोक्ता समितिहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

नगरबासीलाई खानेपानीको पहुँचमा पुर्याउने नगरपालिकाको योजनालाई साकार पार्न सबै उपभोक्ता समितिहरु आ-आफ्नो ठाउँबाट सक्रिय हुनुपर्नेमा जोड दिनु भएको हो ।

नगरभित्र एक सय भन्दा बढी खानेपानी उपभोक्ता समितिहरु दर्ता भए पनि आधाले पनि नवीकरण गरेको नपाइएको भन्दै नगर प्रमुख खत्रीले उपभोक्ता समितिहरुले कानूनी प्रक्रिया पूर्याएमा मात्र राज्यबाट उपलब्ध सेवा सुविधा पाइने भएकाले त्यसतर्फ सचेत हुन र जागरुक भई अगाडि बढ्न आग्रह गर्नुभयो ।

नगर प्रमुख खत्रीका अनुसार चाँगुनारायण नगर भित्र ७८ वटा मूलको र ५० वटा डिप बोरिङबाट खानेपानी वितरण भइरहेको छ । नगरपालिकामा खानेपानी गुणस्तर परिक्षण मिनी प्रयोगशाला सञ्चालनमा रहेको छ ।

चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकीय भवनमा सुरु गरिएको प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार परिक्षण गर्ने गरिएको छ । भक्तपुर जिल्लामा रहेको चार नगरपालिकाहरुमध्ये चाँगुनारायण नगरपालिका खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला संचालनमा ल्याउने पहिलो नगरपालिका हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले खानेपानी संस्थाहरुलाई प्रविधिसँग जोडेर प्रविधिमार्फत ब्यस्थापन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातलगायत जनप्रतिनिधिहरुले पनि भनाई राख्नु भएको थियो भने विभिन्न उपभोक्ता समितिका प्रतिनिधिहरुले आ-आफ्नो जिज्ञासा राख्नु भएको थियो ।

वास शाखा प्रमुख सुरेन्द्र लामिछानेले संचालन गर्नु भएको कार्यक्रममा दियालोको तर्फबाट सिईओ पिआर खनाल, बजार अधिकृत रोशन गौतमले खानेपानी संस्थाहरुमा प्रविधिको प्रयोग सम्बन्धी प्रस्तुतीकरण गर्नु भएको थियो

