खरीपाटी : चाँगुनारायण नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा मोहन कुमार श्रेष्ठले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ। बुधबार नगरपालिकामा नगर प्रमुख जीवन खत्रीसहित कर्मचारीहरूले उहाँलाई स्वागत गर्नु भयो ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले प्रशासनलाई चुस्त, दुरुस्त र पारदर्शी ढंगले अगाडि बढाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उहाँले यसअघिका राम्रा कार्यलाई निरन्तरता दिदैं सुधार गर्नुपर्ने कामलाई समयसापेक्ष सुधार गर्दै लगिने पनि बताउनुभयो ।

विशेष गरि जनप्रतिनिधिबाट हुने निर्णय कार्यान्वयनमा सबैको साथ र सहयोग मिल्ने विश्वास पनि ब्यक्त गर्नुभयो ।

नगरपालिकाका प्रशासन अधिकृत सुरज पौडेलले संचालन गर्नु भएको कार्यक्रममा विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

संघीयतापछि पहिलो पटक स्थानीय तह अन्तर्गत जिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समाल्नु भएको श्रेष्ठले स्थानीय तहको निर्वाचनपछि आधा दर्जन भन्दा बढी पालिकामा रहेर प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी समालीसक्नु भएको छ ।

नगरपालिकामा यसअघि कार्यरत प्रमुख प्रशासकीय अधिृकत शिव प्रसाद हुमेगाइँ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकमा सरुवा हुनु भएपछि उहाँको ठाउँमा श्रेष्ठले जिम्मेवारी समाल्नु भएको हो ।










