खरीपाटी : चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँको विदाई गरिएको छ ।

सोमबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि विगत एक वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुमेगाइँको बिदाई गरिएको हो ।

नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले हुमेगाइँलाई मायाको चिनो, करुवा, प्रशंसापत्र प्रदान गर्नुभयो । बिदाई कार्यक्रममा नगरपालिकाका प्रमुख खत्रीले हुमेगाइँको कार्यकाल सफल रहेको भन्दै प्रशंसा गर्नुभयो । आफुले जनहितमा गरेका निर्णयहरु कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेलेको प्रमुख खत्रीले बताउनुभयो ।

मेयर खत्रीले नगरपालिकालाई अप्ठ्यारो अवस्थामा सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नुहुँदै आगामी यात्राको शुभकामना समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा हुमेगाइँले आफ्नो एक वर्षे अवधिमा थुप्रै काम भएको र ती कामलाई आगामी दिनमा निरन्तरता दिन सुझाव दिनुभयो ।

कमलविनायक-नगरकोट सडकको ठेक्का लगाउने कार्य सम्पन्न भएको र चालु आर्थिक वर्षका अधिकांश योजना कार्यान्वयनको चरणमा रहेको पनि उहाँले बताउनुभयो । सरुवा नियमीत प्रक्रिया भएको बताउनुहुँदै सबै शाखाका कर्मचारीहरुलाई जनप्रतिनिधिको सपना साकार पार्न सहयोग गर्न आग्रह गर्नुभयो ।

नगरपालिकाका प्रशासन अधिकृत सुरज पौडेलले संचालन गर्नु भएको कार्यक्रममा नगरपालिकाका कानूनी सल्लाहकार किरण न्यौपाने, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत हुमेगाइँलाई अवीर, खादा, मायाको चिनो प्रदान गर्नु भएको थियो ।

हुमेगाइँको यही जेठ २ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितीमा सरुवा भएको थियो ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा मोहन कुमार श्रेष्ठले बुधबारदेखि जिम्मेवारी समाल्दै हुनुहुन्छ ।
































