
खरीपाटी: चाँगुनारायण नगरपालिकाले नगरभित्र पशुपालन गर्ने कृषकहरूलाई सम्मान गर्ने भएको छ । नगरपालिकाले एक सूचना प्रकाशित गर्दै चाँगुनारायण नगरपालिका नगर कार्यपालिकाको कार्यालय पशुपन्छी विकास शाखाको आर्थिक वर्ष २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषक सम्मान कार्यक्रम सञ्चालन गरिन लागेको जनाएको हो ।
नगरपालिका क्षेत्र भित्रका इच्छुक पशुपालक कृषक, समुह, समिति, फर्म र कृषि बहुउदेश्यीय सहकारीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र पशुपन्छी विकास शाखामा चाँगुनारायण नगरपालिकाको पशु सेवा कार्यक्रम संचालन कार्यविधि, २०८१ को अनुसूची १८ बमोजिमको ढाँचामा आवेदन र अनुसूची १९ वमोजिमको विवरण पेश गर्नुहुन अनुरोध गरिएको छ ।
कृषक सम्मान कार्यक्रममा प्रमाणपत्र सहित हरेक क्षेत्र (विधा) मा प्रथम, द्धितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः १० हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँ प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
व्यवसायिक भैसी, गाई, बाख्रा वा भेडा, कुखुरा, कालिज वा पन्छी पालन फर्म, कृषि बुहउदेश्यीय सहकारी संस्था, दुध उत्पादन, संकलन, प्रशोसधन र घाँस खेती गर्ने कृषकहरूले सम्मानका लागि आवेदन दिन सक्ने र थप जानकारीका लागि नगरपालिकाको पशुपन्छी शाखामा सम्पर्क राख्नका लागि नगरपालिकाले अनुरोध गरेको छ ।
