खस्रेमा खुल्यो अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने होमस्टे

नगरकोट: काभ्रेपलान्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका-३ खस्रे गाउँमा गुरुङ समुदायले होमस्टे संचालनमा ल्याएका छन। पर्यटकहरूलाई आफ्नै बारिको उत्पादनको अर्गानिक स्वाद चखाउने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य सहित खोलिएको होमस्टेको शुक्रबार भुटानका कृषि तथा पशुपालन मन्त्री योंगतेन फुन्त्सोले उद्घाटन गर्नु भएको छ ।

कुल ५१ घरधुरी गुरुङ जातीको बसोवास रहेको खस्रेमा तीन वटा निजि घरबाट सुरु गरेको होमस्टे अहिले ११ घरमा सुरु गरिएको खस्रे गुरुङ सामुदायिक होमस्टेका संस्थापक अध्यक्ष विकास गुरुङले जानकारी दिनुभयो ।

‘कृषि उपार्जनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित होमस्टे सुरु गरिएको हो, यहाँ आउने पर्यटकलाई अर्गानिक खानाको स्वाद चखाउँछौं’, गुरुङले भन्नुभयो । उहाँका अनुसार होमस्टेसँगैको एक घरमा बाजे पुस्ताले प्रयोग गरेका सामानलाई संग्राहलय बनाएर राखिएको छ। संग्राहलयमा ५० भन्दा बढी सामान राखिएको छ।

११ घरमा रहेको होमस्टेमा हाल २० देखि २५ जनालाई राख्न सकिने क्षमता छ। जसमा एक बेड रुममा दुई देखि तीन जनासम्म अटाउने क्षमता छ।

संस्थापक अध्यक्ष गुरुङले गुरुङ भेषभुषा, रहनसहन रितिरिवाजको प्रचारप्रसार गर्ने, गुरुङ बस्तीलाई नमुना बस्तीका रुपमा स्थापित गर्ने र स्थानीयलाई अर्गानिक उत्पादनसँग जोड्दै पर्यटन प्रवर्द्धनमार्फत रोजगारीसमेत सृजना गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

होमस्टेलाई फोर बेटर परियोजना र मण्डन देउपुर नगरपालिकाको सहयोग समेत छ। फोर बेटरले कृषि आधुनिकतामा तालिम तथा होमस्टे संचालन गर्नका लागि स्थानीय समुदायलाई सहयोग गरेको छ।

होमस्टेकी अध्यक्ष रिना गुरुङले होमस्टेमा आउने पर्यटकले विषादीरहित उत्पादन खान पाउने जानकारी दिनुभयो ।। यस्तै पर्यटकले होमस्टेमा आफैंले इच्छा अनुसार पकाएर खान पाउने सुविधासमेत उपलब्ध हुने बताउनुभयो ।

होमस्टेमा कोदोको सेल, ढिडो, जाँड रक्सी, लोकल मकै, साग, सिस्नु, आलु, स्थानीय रैथाने बालीको उत्पादनको स्वाद लिन सकिनेछ ।