रातको समयमा अवैध रुपमा माटो र बालुवा ओसार प्रसार हुने गरेको गुनासोपछि उपप्रमुख बुढाथोकीद्धारा विभिन्न ठाउँको अनुगमन

चाँगुनारायण समाचारदाता

ताथली क्षेत्रमा माटो, बालुवा तस्करी हुने गरेको गुनासो आएपछि चाँगुनारायण नगरपालिकाले मंगलबार राति छड्के अनुगमन गरेको छ । रातको समयमा माटो बालुवा तस्करी हुने गरेको गुनासो आएपछि भएको अनुगमनको क्रममा केहि स्थानमा अवैध रुपमा उत्खननको काम हुने गरेको पाइएको छ ।

अनुगमनको क्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको काठमाडौं क्यान्सर अस्पतालको गेट प्रयोग गर्दै पछाडिबाट माटो ओसारपसार हुने गरेको भेटिएको हो ।

नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक रमेश बुढाथोकीसहित नगर प्रहरीको टोलीले अस्पतालको गेट हुँदै माटो ओसारप्रसार हुने गरेको पाइएपछि फैढोकामा रहेको अस्पतालको गेटमा ताला लगाएको छ ।

उपप्रमुख बुढाथोकीले अस्पतालको गेट प्रयोग गरि अवैध तरिकाले माटो ओसारपसार भइरहेको पाइएपछि ताला लगाइएको बताउनुभयो । उहाँले माटो उत्खनन गर्ने डोजर समेत सो ठाउँमा भेटिएकाले बुधबार दिउँसो कार्यालयमा उपस्थित हुन आग्रह गर्नु भएको छ ।

त्यस्तै, अनुगनको क्रममा फैढोकाको दक्षिण क्षेत्रमा पनि अवैध रुपमा माटो र बालुवा उत्खनन भइरहेको पाइएको छ ।

उपप्रमुख बुढाथोकी कहि कतै अवैध रुपमा उत्खनन् र ओसारप्रसार भए तत्काल खवर गर्न पनि आग्रह गर्नु भएको छ ।