नगरकोट भ्रमण वर्ष-२०८२ भब्य रुपमा सफल बनाउन सहयोग गर्ने पर्यटन तथा होटल ब्यवसायीको सामूहिक प्रतिबद्धता, भ्रमण वर्ष भरिनै न्यूनतम १० प्रतिशत छुट दिने

खरिपाटी : नगरकोट भ्रमण वर्ष-२०८२ को तयारीस्वस्प बुधबार चाँगुनारायण नगरपालिकाको सभाहलमा होटल ब्यवसायीहरुसँग छलफल भएको छ ।

चारै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहितका जनप्रतिनिधिहरुको सहभागितामा भएको छलफलमा होटल ब्यवसायीहरुले भ्रमण वर्ष २०८२ भरिनै सेवाग्राहीलाई न्यूनतम १० प्रतिशत छुट दिने भएका छन् । साथै सजावट, प्रचार प्रसार र प्रबद्र्धनात्मक कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

सो निर्णयलाई आधिकारिक रुप दिन नगरकोट नाल्दूम पर्यटन विकास समितिबाटै निर्णय गराइने भएको छ । सो निर्णयसँगै नगरकोट भ्रमण वर्षभर आउने जोकोहि पर्यटकले विशेष सहुलियत पाउने छन् ।

कार्यक्रममा पर्यटन तथा होटल ब्यवसायीहरुले आफूले गर्न सक्ने र गर्ने कामका बारेमा खुलेर कुरा राखेका थिए । ब्यवसायीहरुले भ्रमण वर्ष आयोजना गरिएकोमा नगरपालिकालाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।

सो अवसरमा चाँगुनारायण नगरपाकिाका नगर प्रमुख जीवन खत्रीले भ्रमण वर्ष आयोजना गर्नु भएको उद्देश्य र भइरहेको तयारीको बारेमा स्पष्ट पार्नु भएको थियो । मेयर खत्रीले पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले नै भ्रमण वर्ष आयोजना गरिएकाले होटल ब्यवसायीले आफूले सक्दो सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले नगरकोटमा आउने पर्यटकलाई रोक्न विभिन्न खालका नकारात्मक प्रचार प्रसार र क्रियाकलप भइरहेकाले नगरपालिकाले भ्रमण वर्षसँगै नगरकोट कमलविनायक सडक खण्डमा अन्य ठाउँको बजेट कटौती गरेर भए पनि बजेट विनियोजन गरिएको बताउनुभयो ।

मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाईबाले नगरकोट भ्रमण वर्ष २०८२ को घोषणा गरि चाँगुनाराण नगरपालिका सक्रियताका साथ अगाडि बढेकोमा खुसी ब्यक्त गर्दै अब संयुक्त रुपमा भ्रमण वर्षलाई प्रभावकारी र परिमाणमुखी बनाउन चारै नगरपालिका लाग्ने बताउनुभयो ।

नगरपालिकाले पर्यटन ब्यवसायीको हितलाई प्राथमिकता दिर्दै आएको बताउनुहुँदै आप्mनो तर्फबाट गर्न सक्ने काम आफै गरि भब्य र सब्य रुपमा भ्रमण वर्ष सफल बनाउन आग्रह गर्नुभयो ।

बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यले भ्रमण वर्षले होटल ब्यवसायीसँगै सबै नगरको आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले यसलाई सफल बनाउन चारै नगरपालिका एकजुट भएर अगाडि बढिरहेको बताउनुभयो ।

नगरकोट नाल्दूम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले उद्घाटन कार्यक्रमको लागि भइरहेको तयारीका बारेमा चर्चा गर्नु भएको थियो । उहाँले पर्यटन तथा होटल ब्यवसायी अत्यन्तै उत्साहित भएको र सफल बनाउन आआफ्नो ठाउँबाट प्रयास भइरहेको बताउनुभयो ।

नगरकोट भ्रमण वर्ष-२०८२ का फोकल पर्सन तथा विज्ञ डा. घनश्याम खतिवडाले सञ्चालन तथा सहजीकरण गर्नु भएको कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका नगर उपप्रमुख विष्णुमणी नेपाल, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ, चाँगुनारायण नगरपालिका वडा नंं ६ का वडाध्यक्ष धन बहादुर लामा, नगरकोटसँग जोडिएकाा अन्य पालिकाका वडाध्यक्षहरु, पर्यटन तथा होटल ब्यवसायीहरुको सहभागिता थियो ।