नगरकोट : नगरकोट भ्रमण वर्ष-२०८२ नजिकिंदै गर्दा तयारी तीब्र बनाइएको छ । चाँगुनारायण नगरपालिकाले भ्रमण वर्षको तयारी ब्यापक बनाइरहँदा यसलाई सफल बनाउन काभ्रेका मण्डन देउपुर, बनेपा र काठमाडौंको शंखरापुर नगरपालिकाले पनि सामूहिक रुपमा सहकार्य गर्दैछन् ।

सोही सिलसिलामा चारै नगरपालिकाका नगर प्रमुख तथा नगरकोट जोडिने वडाध्यक्षसहितका जनप्रतिनिधिहरुको टोलीले मंगलबार आगामी बैशाख १ गते उद्घाटन समारोह हुने नगरकोटको बतासेडाँडाको स्थलगत निरीक्षण गरेको छ ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाईबा, बनेपाका नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ, नगरकोट नाल्दूम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङ, नगरकोट भ्रमण वर्ष-२०८२ का फोकल पर्सन तथा विज्ञ डा. घनश्याम खतिवडा, चाँगुनारायण नगरपालिकाका प्रशासन अधिृकत सुरज पौडेल, वडा नंं ६ का वडाध्यक्ष धन बहादुर लामासहित बनेपा, शंखरापुर र मण्डन देउपुरका सम्बन्धीत वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरुको सहभागितामा निरीक्षण गरिएको हो ।

कार्यक्रम हुने स्थानको स्थलगत निरीक्षणपछि टोलीले गर्नुपर्ने काम र भइरहेको तयारीको बारेमा छलफल गरिएको थियो ।

सो अवसरमा चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले भ्रमण वर्षलाई भब्य रुपमा सफल बनाउन चारै नगरपालिकाले सामूहिक रुपमा आयोजना गर्ने निर्णय अनुरुप तयारीलाई ब्यापक बनाइएको बताउनुभयो । नगरकोट चारै नगरपालिकाको केन्द्रको रुपमा रहेकाले चारै नगरपालिका आयोजक रहने गरि तयारी भइरहेको पनि मेयर खत्रीले जानकारी गराउनुभयो ।

मेयर खत्रीले चाँगुनारायण नगरपालिकाको तर्फबाट ब्यापक तयारी भइरहँदा तीन नगरपालिकाको पनि साथ मिलेकाले भ्रमण वर्ष सोचेभन्दा भब्य र सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।

मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख वाईबाले चारै नगरपालिकाको सामूहिक प्रयासकै कारण नगरकोटको सिमांकन टुग्यांउन सफल भएसँगै चाँगुनारायण नगरपालिकाले अगाडि सारेको भ्रमण वर्ष-२०८२ लाई सफल बनाउन सबै एकजुट भएर अगाडि बढिएको बताउनुभयो ।
भ्रमण वर्ष तयारीकै सिलसिलामा बुधबार चाँगुनारायण नगरपालिकामा नगरकोटका पर्यटन ब्यवसायीहरुसँग छलफल आयोजना गरिएको छ । पर्यटन ब्यवसायीसँगको छलफलपछि चारै नगरपालिकाका मेयर र जनप्रतिनिधिसहितको मूल आयोजक समिति गठन गरिदैंछ । आयोजक समिति गठन भएसँगै विषयगत उपसमिति गठन गरि आवश्यक गृहकार्य गर्ने तयारी छ ।

