चाँगुनारायण नगरका इञ्जिनियर र आर्किटेक्टहरुलाई ऊर्जा प्रभावकारी भवन डिजाईन सम्बन्धी तीन दिने तालिम

खरीपाटी: चाँगुनारायण नगरपालिकामा दर्ता भएका डिजाईन एमएसएमईएस (लघु, साना तथा मध्यम उद्यमी) को लागि ऊर्जा प्रभावकारी भवन डिजाईन सम्बन्धी तीन दिने तालिम शूरु भएको छ । चाँगुनारायण नगरपालिकाले बिल्डिङ् इनर्जी इफिसियन्सी इन नेपाल (बिन) सँगको सहकार्यमा सोमबारबाट तालिम संचालन गरेको हो ।

तालिमको नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख खत्रीले नगरपालिकाले ऊर्जा प्रभावकारी भवन निर्माण सम्बन्धी कार्याविधि स्वीकृत गरि कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

ऊर्जा प्रभावकारी भवन निर्माण कार्यान्वयनका लागि नगरभित्रका परामर्शदातालाई प्रदान गरिने तालिमले यसलाई लागू गर्न सहज हुने विश्वास समेत ब्यक्त गर्नुभयो ।

बिइइएका प्रमुख सुयेश प्रजापतिले भवनमा ऊर्जा दक्षता प्रवद्र्धन गर्ने मापदण्ड, निर्देशीका वा नियमको कमी रहेको बताउनुहुँदै भवन सम्बन्धी लघु, साना तथा मध्यम उद्यमीहरुमा ऊर्जा प्रभावकारी सेवा तथा उत्पादनहरु उपलब्ध गराउन चेतना र क्षमताको कमी रहेकाले तालिमको आवश्यकता रहेको औल्याउनुभयो ।

चाँगुनारायण नगरपालिकाका बस्ती तथा भवन निर्माण शाखा प्रमुख कृष्ण भरोसा बस्नेतले तीन दिने तालिमले ऊर्जा प्रभावकारी भवन निर्माणमा दक्षता हासिल हुने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रमको संचालन चाँगुनारायण नगरपालिकाका प्रशासन अधिकृत सुरज पौडेलले संचालन गर्नु भएको थियो । कार्यक्रममा ५० जनाको सहभागिता रहेको छ । तालिम बुधबारसम्म चल्नेछ ।

चाँगुनारायण नगरपालिका ऊर्जा प्रभावकारी भवन निर्माण सम्बन्धी कार्याविधी तयार गरि स्वीकृत गर्ने उपत्यकामा दोस्रो पालिका समेत हो । केहि समयअघि मात्र नगरपालिका बिइइएनबाट सम्मानीत भइसकेको छ ।

सन् २०४५ सम्म हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा पु¥याउने सरकारले प्रतिवद्धता जनाएको छ । सन् २०३० सम्म इँटा तथा सिमेन्ट उद्योगहरुमा कोइलाको खपत र वायु प्रदूषण घटाउन कार्बन उत्सर्जन न्यूनीकरण गर्ने प्रविधिको प्रयोगमा ल्याउने, कम्तिमा पाँच वटा पर्यटकीय गन्तव्यहरुमा कार्बन तटस्थता सुनिश्चित गर्ने, न्यून कार्बन उत्सर्जन तथा जलवायु अनुकूलनमा जोड दिने गरी सबै स्थानीय तहहरुमा राष्ट्रिय भवन संहिता लागू गर्ने भनिएको छ ।

बढ्दो शहरीकरणले गर्दा अधिकांश घरहरु शहरी क्षेत्रमा नै निर्माण हुने गरेका छन् । भवन निर्माण गर्ने क्रमसँगै इँटालगायत अत्याधिक ऊर्जा खपत हुने निर्माण सामग्रीहरुको प्रयोगका कारण भवन क्षेत्रको कार्बन फुप्रिन्ट उच्च छ ।

इँटा उत्पादनबाट मात्रै नेपालमा १२ लाख टनभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नेपालले शून्य कार्बन उत्सर्जन गर्ने प्रतिवद्धता जनाएको सन्दर्भमा भवन निर्माण गर्दा पनि यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

भवनहरु ऊर्जा प्रभावकारी बनाउन सकिएमा आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पर्नुका साथै वातावरणीय लाभ पनि पाउन सकिन्छ । पछिल्लो एक अध्ययनले काठमाडौँ उपत्यकामा हालसालै बनेका भवनहरुमा कुल ऊर्जा खपतको करिब ६० प्रतिशत वातावारणनुकूलन (ताप वा शीतल) गर्न खपत भएको पाइएको छ ।