खरीपाटी । नेपालमै पहिलो पटक नगरबासीलाई निशुल्क रगत र अक्सिजन वितरण गर्ने सराहनीय कार्य शूरु गरेको चाँगुनारायण नगरपालिकामा हजारौ लाभान्वित भएका छन् । नगरपालिकाका स्थायी बासिन्दाका लागि चाँगुनारायण नगरपालिकाले निशुल्क रगत र अक्सिजन वितरण शुरु गरेसँगै अन्य पालिकामा पनि लागू गरिएको थियो ।
२०७९ सालमा जीवन खत्री नेतृत्वमा नयाँ जनप्रतिनिधि निर्वाचीत भएर आएपछि विभिन्न रोगको उपचारका क्रममा अत्यावश्यक पर्ने रगतका लागि लाग्ने आवश्यक विभिन्न शुल्क नगरपालिकाले व्यहोर्ने गरी नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउन थालिएको हो । नगरपालिकाले हरेक आर्थिक वर्ष रेडक्रससँग निःशुल्क रगत उपलब्ध गराउन सम्झौता गर्दै आएको छ ।
चाँगुनारायण स्वास्थ्य शाखाका अनुसार अहिलेसम्म चाँगुनारायण नगरपालिकामा मात्र ९ सय ३५ जना नगरबासीलाई रगत एवं रक्ततत्व निःशुल्क वितरण भइसकेको छ ।
रगत निःशुल्क प्राप्त गर्नका लागि बिरामीका आफन्तले बिरामीको स्थायी ठेगाना भएको परिचय खुल्ने आधिकारिक परिचयपत्र र सम्बन्धित अस्पतालका चिकित्सकको रगत आवश्यकता रहेको सिफारिसपत्र पेस गरेको आधारमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइँदै आएको छ । बिरामीलाई रेडक्रसले निःशुल्क उपलब्ध गराएको रगतको शुल्क नगरपालिकाले सोधभर्ना गरि रकम वार्षिक रुपमा रकम उपलब्ध गराउने गरेको छ ।
त्यस्तै, नगरपालिकामा २०८० साउन देखि शूरु गरिएको निशुल्क अक्सिजन वितरण हालसम्म १ सय ३ जनालाई गरिसकिएको छ । जसमध्ये ठूलो सिलिण्डर ७ सय ५३ र सानो सिलिण्डर ७ सय ४२ गरि १ हजार ४ सय ९५ वटा अक्सिजन निशुल्क रुपमा वितरण भइसकेको हो ।
