चाँगुनारायणका मेयर खत्रीद्धारा नगरकोट-काठमाडौं सिधा बस सेवाको शुभारम्भ, पर्यटकको आर्कषण थप बढ्ने र यातायातमा सहज पहुँच पुग्ने विश्वास

नगरकोट: नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरि काठमाडौंबाट नगरकोट सिधा बस सेवा सञ्चालनमा आएको छ ।उत्तरपूर्वी यातायात प्रा. लि र ख्वप मिनीबस यातायाती प्रा. लि को संयुक्त सहकार्यमा नगरकोट काठमाठौं सिधा बस सेवा संचालनमा आएको हो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले रिवन काटेर बस सेवाको औपचारिक रुपमा शुभारम्भ गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख खत्रीले राजधानीबाट नजिक र पर्यटकीय गन्तब्य हुँदा पनि सिधा बस सेवा संचालन हुन नसकेको अवस्थामा नगरकोट भ्रमण वर्षलाई लक्षित गरि बस सेवा शुभारम्भ गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।

मेयर खत्रीले बस सेवा सचालनमा आएसँगै पर्यटकको थप आर्कषण बढ्ने, प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्व बोकेको नगरकोटको मनोरम दृश्य अवलोकन गर्न सहज पहुँच पुग्ने बताउनुभयो ।

उहाँले आगामी बैशाख १ गतेदेखि नगरपालिकाले आयोजना गर्ने भ्रमण वर्ष भब्य रुपमा सफल बनाउन पनि सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नंं ६ का वडाध्यक्ष धन बहादुर लामा, ख्वप बस ब्यवसायी समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जन, उत्तरपूर्वी बस ब्यवसायी समितिका अधयक्ष निरोज नगरकोटीलगायत ब्यवसायी, काठमाडौं महानगरपालिकाका प्रतिनिधि र टार्फीक प्रहरी लगायतको सहभागिता रहेको थियो ।