
खरीपाटी : चाँगुनारायण नगरपालिकाले भब्यताका साथ नवौं स्थापना दिवस मनाएको छ । मंगलबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच नवौं स्थापना दिवस, बालमैत्री स्थानीय तह घोषणाको तेस्रो बार्षिकोत्सव तथा ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बृहत अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो ।

प्रमुख अतिथि प्रतिनिधिसभा सांसद प्रेम सुवालले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो । सोही अवसरमा चाँगुनारायण नगरपालिकाको कानून संग्रहको पुस्तक समेत विमोचन गरिएको थियो ।

कार्यक्रममा प्रदेश सांसद सुरेश श्रेष्ठ, पूर्व मेयर सोम मिश्र, नगर प्रमुख जीवन खत्री, पूर्व उपप्रमुख बीना बास्तोला, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ, ९ वटै वडाका वडाध्यक्षहरु, नगर कार्यापालिकाका सदस्यहरु, नगर सभा सदस्यहरु, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सहित सरोकारवाला निकाय र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै भक्तपुर क्षेत्र नंं १ का सांसद सुवालले चाँगुनारायण नगरपालिकाले विकास निर्माणमा अगाडि बढिरहेकोमा शुभकामना दिनुहुँदै आफ्नो तर्फबाट गर्नुपर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले नगरपालिकाले पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले नगरकोट भ्रमण वर्ष मनाउन लागेकोमा खुसी ब्यक्त गर्नुहुँदै भब्य र सब्य रुपमा मनाउने गरि आवश्यक तयारीमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व नगर प्रमुख सोम मिश्रले पहिलो कार्यकालमा विकास निर्माण गर्दा भोग्नुपरेको चुनौतीका बारेमा स्मरण गर्नुहुँदै विगतका असल अभ्यासलाई अनुशरण गर्दै अगाडि बढेकोमा वर्तमान जनप्रतिनिधिहरुको सिंगो टिमप्रति धन्यवाद ज्ञापन गर्नुभयो । पूर्व मेयर मिश्रले नगर अस्पतालमा भइरहेको सुधारको खुलेर प्रशंसा समेत गर्नुभयो ।

नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरलाई समुन्नत र समृद्ध बनाउन सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

नगरपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरू निकै उपलब्धिमूलक रहेको बताउनुहुँदै आगामी दिन अगाडि बढ्न सबै पक्षको साथ सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले नगरकोट भ्रमण वर्ष २०८२ का सन्दर्भमा कुनै सरसल्लाह र सुझाव भए सचिवालयमा पेश गर्न पनि आग्रह गर्नुभयो ।

पूर्व उपप्रमुख बीना बस्तोलाले नगरपालिकाले सबै राजनीतिक दलका प्रतिनिधिदेखि विगतका जनप्रतिनिधिहरुलाई सम्झेर कार्यक्रममा बोलाउने र सम्मान गर्ने परिपाटी शुरुवात गरेकोमा खुसी ब्यक्त गर्नुहुँदै नगरकोट भ्रमण वर्ष सफल बनाउन सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले नगरपालिकाले सेवा प्रवाहलाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउँदै आएको बताउनुभयो ।

कार्यक्रममा वडा नंं ६ का वडाध्यक्ष धन बहादुर लामा, राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका नगर सभापति शिवहरि केसी, चाँगुनारायण नगरस्तरीय सहकारी सञ्जालका अध्यक्ष प्रल्हाद बास्तोला लगायतले पनि बोल्नु भएको थियो ।

सोही अवसरमा नगरकोट भ्रमण वर्ष २०८२ को तयारी सम्बन्धमा फोकल पर्सन तथा विज्ञ डा. घनश्याम खतिवडाले हालसम्मको तयारी र आगामी कार्ययोजनाको सम्बन्धमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता जनक खत्रीले संचालन गर्नु भएको कार्यक्रममा महाशाखा प्रमुख निला घिमिरेले चाँगुनारायण नगरपालिकाले सम्पादन गरेका प्रमुख उपलब्धीहरु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बाल्मीकेश्वर विद्यालय र श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति समेत गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसहित संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


















