
खरीपाटी: चाँगुनारायण नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ लक्षित नगरस्तरीय बक्तृत्वकला प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा सोमबार आयोजित युवा प्रतिभा पहिचान अन्तर्गत नगरकोट भ्रमण वर्ष २०८२ र पर्यटन प्रबद्र्धनमा युवाको भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १३ जना सहभागि थिए । प्रतियोगितामा सबै वडाका कम्तिमा एक जना सहभागि गराइएको थियो ।

प्रतियोगितामा वडा नंं ८ का रिजोन्स दुलाल प्रथम हुन सफल भए । उनले ८ हजार ५ सय नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे । वडा नंं ३ की आकृति न्यौपाने द्धितीय हुन सफल भईन । उनले नगद ६ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरिन ।

त्यस्तै, वडा नंं ९ का सुवर्ण केसी तृतीय र सुदीना खत्री सान्त्वना हुन सफल भईन । तृतीय हुन सफल केसीले ३ हजार ५ सय र सान्त्वना हुन सफल खत्रीले २ हजार ५ सय नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भए प्रतियोगितामा सहभागिलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगिलाई नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिृकत हुमेगाइँले नगरपालिकाले शैक्षीक क्षेत्रको उत्थान, विकास र विस्तारका साथै युवा विद्यार्थीहरुको क्षमता प्रस्फूटन गर्न यस्ता प्रतियोगिता सहयोगी शावित हुने बताउनुभयो ।

प्रतियोगितामा मूल्यांकनकर्ताको रुपमा नगर गानका रचनाकार हरिहर तिमल्सिना, चाँगुनारायण नगरपालिकाका सूचना अधिकारी तथा वरिष्ठ अधिकृत अनुप लामिछाने र लक्ष्मी खत्री हुनुहुन्थ्यो ।

कार्यक्रममा नगरकोट भ्रमण वर्ष २०८२ का फोकल पर्सन तथा विज्ञ घनश्याम खवितडाले नगरबासी सबै मिलेर भ्रमण वर्ष भब्य र सब्य रुपमा सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिनेश अर्यालले नगरपालिकाले नगरकोट भ्रमण वर्ष लक्षित नगरस्तरीय नृत्य प्रतियोगिता सम्पन्न गर्दै बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुहुँदै आगामी दिनमा थप कार्यक्रम गदै जाने बताउनुभयो । कार्यक्रमको संचालन शिक्षा शाखा अधिकृत रञ्जना सापकोटाले संचालन गर्नु भएको थियो ।

























