दुवाकोटमा चलाइएको ‘समुदायको लागि २ घण्टा सरसफाई अभियान’ ९६ औं हप्तामा, सिसी क्यामेरा जडान, फोहोर फाल्नेलाई कारबाही हुने

दुवाकोट : चाँगुनारायण नगरपालिका वडा नंं २ दुवाकोटले चलाएको समुदायको लागि २ घण्टा सरसफाई अभियान ९६ औं हप्तामा पुगेको छ । ९६ औं हप्ताको अवसरमा चाँगुनारायण नगरपालिका र मध्यपुर थिमी नगरपालिकाको सिमा दुवाकोटदेखि केएमसीसम्म सरसफाई गरिएको छ ।

सोही अवसरमा फोहोर फाल्नेलाई कडाई गर्ने र कारवाही गर्ने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको छ । सिसी क्यामेराको प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सिसी उद्घाटन गर्नुभयो ।

सांसद श्रेष्ठले जथाभावी फोहोर फाल्नेलाई कारवाही गर्न समेत पछि पर्न नहुने बताउनुभयो । वडास्तरबाट सरसफाई अभियान चलाइए पनि जनस्तरबाट सबैले आआफ्नो ठाउबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

वडा नंं २ का वडाध्यक्ष सोम प्रधानले विभिन्न विद्यालय, संघसंस्था, स्थानीय समुदायको साथ सहयोग र आग्रहमा सरसफाई अभियान चलाइएको बताउनुभयो ।

उहाँले सिसी क्यामेरा जडानपछि फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारवाही गरिने पनि बताउनुभयो । आगामी १०० हप्तापछि भने अभियानलाई अझ बढी परिस्कृत र नयाँ ढंगले लगिने वडाध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

त्यस्तै, अभियानकै क्रमममा नेप्सेम्याक भक्तपुरले दुवाकोट सडकमा एक जना सफाई मजदुर राख्ने प्रतिबद्धता पनि जनाएको छ ।