
खरिपाटी; भक्तपुर जिल्लामै पहिलो पटक चाँगुनारायण नगरपालिकाले संचालनमा ल्याएको खानेपानी गुणस्तर परीक्षण प्रयोगशालामा परिक्षण गराउने बढेका छन् । प्रयोगशालामा नगरपालिकाका विभिन्न संघसंस्था, खानेपानी तथा सरफाई उपभोक्ता समिति, विद्यालय, घरधुरी गरि ३५ वटा परिक्षण गरिसकेको नगरपालिकाले जनाएको छ ।
प्रयोगशालामा कार्यरत प्राविधिक सुशिला घिमिरेका अनुसार गत माघ ९ गतेबाट संचालनमा ल्याइएको प्रयोगशालामा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ४ वटा, विद्यालयका २ वटा, विभिन्न संघसंस्थाका ४ वटा र घरधुरीका २५ जनाले खानेपानी परिक्षण गरेका छन् ।
नगरवासीहरुलाई सुरक्षित खानेपानीको पहुँचमा पुर्याउने लक्ष्यका साथ संचालनमा ल्याइएको ल्याबको गत पुष ९ गते नगर प्रमुख जीवन खत्रीले उद्घाटन गर्नु भएको थियो ।
प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ मा उल्लेखित २७ वटा मध्ये १४ वटा आधारभूत प्यारामिटर परीक्षण गरिर्दै आएको छ । जसमा धमिलोपन, तामक्रम, हाइड्रोजन विभव,, विद्युतीय संवाहकता, फलाम, क्लोराइड, अमोनिया, नाइट्रेट, फोस्फ्ट, आर्सेनिक, क्लोरिन अवशेष, कुल कडापन, इ कोली, कुल कोलिफम परीक्षण गरिर्दै आएको प्राविधिक सन्ध्या घोरसाईनीले जानकारी दिनुभयो ।
नगरपालिकाले सामुदायिक विद्यालयहरु, नगर अस्पताल, सरकारी स्वास्थ्य संस्थाहरु, नगरपालिका अन्तर्गतको वडा कार्यालय र अन्य मातहतका कार्यालयहरु र विपन्न नागरिकका लागि खानेपानी परीक्षण निशुल्क गरेको छ भने त्यस बाहेकका क्षेत्रका लागि भने केहि शुल्क लिदैं आएको छ ।
खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा प्रमुख सुरेन्द्र लामिछानेले नगरपालिकाले खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यबिधि २०८१ स्वीकृत गरी शुल्क निर्धारण गरिएको बताउनुभयो ।
नगरपालिकाका अनुसार संस्थागत विद्यालय तथा मन्टेश्वरीका लागि प्रतिपटक रु ६५०, संस्थागत अस्पताल र स्वास्थ्य संस्था तथा अन्य संघसंस्थाहरु, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु, होटल, जार तथा बोतलको पानी उत्पादन गर्ने कम्पनी तथा अन्य कम्पनीहरु, नगरपालिका क्षेत्र बाहिरका घरधुरीहरुका लागि प्रतिपटक एक हजार २५० रुपैयाँ निर्धारण गरिएको छ ।
भक्तपुर जिल्लामा रहेको नगरपालिकाहरुमध्ये चाँगुनारायण नगरपालिका खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला संचालनमा ल्याउने पहिलो नगरपालिका हो भने काठमाण्डौं उपत्यकाको तेस्रो नगरपालिका हो । यस अघि गोदावरी र महालक्ष्मी नगरपालिकाले खानेपानी गुणस्तर परीक्षण ल्याब संचालनमा ल्याई सकेका छन् ।