चाँगुनारायण नगरपालिकाद्धारा आर्थिक रुपमा विपन्न क्षयरोगका बिरामीलाई पोषण सहयोग (फुड बास्केट) वितरण

खरीपाटी: चाँगुनारायण नगरपालिकाले आर्थिक रुपमा विपन्न क्षयरोगका बिरामीलाई पोषण सहयोग (फुड बास्केट) वितरण गरेको छ । नगरपालिकामा मंगलबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख जीवन खत्री र प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले क्षयरोग बिरामीलाई पोषणा सहयोग (फुड बास्केट) वितरण गर्नु भएको हो ।

नगरभित्र ३१ जना क्षयरोगका बिरामी रहेका छन् । त्यसमध्ये आर्थिक रुपमा विपन्न ९ वटै वडाका एक/एक जनालाई चामल, अण्डा, तेल, बदाम, पिठो र दाल लगायत पोषणा सहयोग गरिएको हो ।

सो अवसरमा नगर प्रमुख खत्रीले क्षयरोग उन्मूलन गर्ने अभियानमा नगरपालिका लागिपरे पनि विभिन्न कारणले नगरबासी संक्रमीत हुन परिरहेको बताउनुहुँदै नियमीत रुपमा औषधि सेवन, पोषणयुक्त खानपान भएमा रोग निको हुने भएकाले क्षयरोग बिरामीलाई हौसल्ला दिन पनि पोषण सहयोग गरिएको बताउनुभयो ।

नगरपालिका सदैव साथमा रहेको भन्दै नगर प्रमुख खत्रीले कुनै समस्या परेमा आ-आफनो वडा कार्यालय, स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न पनि आग्रह गर्नुभयो । उहाँले पोषणयुक्त कार्यक्रमले क्षयरोग रोग निको पार्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले नगरपालिकाले आर्थिक रुपले विपन्न क्षयरोगीलाई नियमीत वार्षिक रुपमा पोषण सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख दिल कुमार दुवालले क्षयरोग बिरामीलाई हाल तीन महिना पुग्ने गरि पोषण सहयोग वितरण गरिएको बताउनुभयो । अर्को पटक फेरि तीन महिनाका लागि पुग्ने गरि पोषणा सहयोग वितरण गरिने पनि उहाँले बताउनुभयो ।