
हेल्मेटडाँडा: चाँगुनारायण नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको नगर स्तरीय प्रतियोगिताको उपाधि मित्रश्री पाठशालाले जितेको छ । मंंगलबार नगरपालिकाको सामुदायिक भवन हेल्मेटडाँडामा भएको फाईनल प्रतिस्पर्धामा ८ वटा टिमलाई पछि पार्दै मित्रश्री उपाधि जित्न सफल भएको हो ।

प्रतियोगितामा बाल्मिकेश्वर मावि दोस्रो र श्रीकृष्ण मावि तेस्रो हुन सफल भए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालय र विद्यार्थीलाई नगर प्रमुख जीवन खत्रीले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । नगरस्तरीय प्रतियोगितामा विभिन्न क्षेत्र स्तरबाट प्रतिस्पर्धा गराई ९ वटा टिम छनोट भएका थिए ।

सो अवसरमा नगर प्रमुख खत्रीले नगरपालिकाले शैक्षिक क्षेत्रको विकास तथा विस्तारको लागि विभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेको बताउनुहुँदै र त्यसैको सिलसिलामा नृत्य प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

नगर प्रमुख खत्रीले बालबालीकाहरुलाई सक्षम, सबल र अब्बल बनाउनका लागि विभिन्न क्षेत्रबाट तयारी भइरहेको पनि बताउनुभयो ।

नगरपालिकाको आसा र भरोसाको धरोहर आजका बालबालीका भएको बताउनु हुँदै कुनै पनि क्षेत्रमा आफूलाई अब्बल शावीत गर्न सक्ने बनाउन नगरपालिका लागिरहेको बताउनुभयो ।

प्रतियोगिताले हारजीतलाई मात्र मापन गर्ने नभई समग्र नगरभित्रका विद्यार्थीहरुको क्षमता अभिबृद्धि गराउने प्लेट फर्म भएकाले जित्दैमा मातीने र हार्दैमा आत्तिने काम गर्न नगर्न पनि आग्रह गर्नुभयो ।

सोही अवसरमा नगर प्रमुख खत्रीले चाँगुनारायण क्षेत्र स्तरीय प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीलाई समेत पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतियोगितामा वडा नंं १, २ र ३ वडाका विद्यालय स्तरीय प्रतिस्पर्धामा प्रथम हुन सफल मित्रश्री पाठशाला, प्रज्ञा ई स्कुल र नवीन ई स्कुलका विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो ।

त्यस्तै, वडा नं ४, ५ र ६ स्तरीय नृत्य प्रतियोगितामा प्रथम हुन सफल क्वालिट इग्लिस स्कूल, द्धितीय हुन सफल गणेश मावि र तृतीय हुन सफल दोलागिरी माविका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो ।

त्यस्तैगरि, वडा नंं ७, ८ र ९ वडाका विद्यालयबीच गराइएको प्रतिस्पर्धामा प्रथम हुन सफल बाल्मिकेश्वर मावि, द्धितीय हुन सफल श्रीकृष्ण मावि र तृतीय हुन सफल आरक्षण नेशनल एकेडेमीलाई पनि नगर प्रमुख खत्रीले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि ४० वटा विद्यालय सहभागि रहेको शिक्षा शाखा प्रमुख दिनेश अर्यालले जानकारी दिनुभयो । फाईनल प्रतियोगिताको संचालन शिक्षा अधिकृत रञ्जना सापकोटाले गर्नु भएको थियो ।












