चाँगुनारायण नगरपालिकामा क्षेत्रस्तरीय नृत्य प्रतियोगिताबाट ९ टिम छनोट, मंगलबार फाईनल हुने

हेल्मेटडाँडा । चाँगुनारायण नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको क्षेत्रस्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार पहिलो दिन वडा नं १, २ र ३ का सांमुदायिक र संस्थागत विद्यालयहरुबीच प्रतिस्पर्धा गराइएको थियो ।

१४ वटा टिम सहभागि नृत्य प्रतियोगितामा मित्रश्री पाठशालाका विद्यार्थी प्रथम हुन सफल भए भने प्रज्ञा ई स्कुलका विद्यार्थी दोस्रो र नवीन ई स्कुलका विद्यार्थी तेस्रो हुन सफल भए ।

आइतबार भएको वडा नं ४, ५ र ६ स्तरीय नृत्य प्रतियोगितामा क्वालिट इग्लिस स्कूल प्रथम हुन सफल भयो भने दोस्रोमा गणेश मावि र तेस्रोमा दोलागिरी मावि भए । प्रतियोगितामा १० वटा टिम सहभागि थिए ।

त्यस्तै, मंगलबार भएको वडा नंं ७, ८ र ९ वडाका विद्यालयबीच गराइएको प्रतिस्पर्धामा बाल्मिकेश्वर मावि प्रथम, श्रीकृष्ण मावि द्धितीय र आरक्षण नेशनल एकेडेमी तृतीय हुन सफल भए । प्रतियोगितामा १५ वटा टिम सहभागि थिए ।

त्यस्तैगरि, मंगलबार नगरस्तरीय फाइनल प्रतिस्पर्धा हुँदैछ । क्षेत्रस्तरबाट छनौट भएका ९ वटा टिमबीच प्रतिस्पर्धा गराउँदै अन्तिम विजेता घोषणा गरिनेछ । नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ, शिक्षा शाखा प्रमुख दिनेश अर्यालसहितको सहभागितामा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।