
दुवाकोट : चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत सोमबार वडा नम्बर १ सरस्वती खेल स्वास्थ्य चौकीमा जेष्ठ नागरिक लक्षित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

उक्त शिविरमा नाक कान घाँटी , हाड जोर्नी तथा नशा समस्या, स्त्री रोग, आँखा चेक ,र सामान्य चेक जाँच र औषधि वितरण गरिएको थियो ।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले शिवीरको उद्घाटन गर्नुहुँदै नगरबासीको स्वास्थ्यलाई ध्यान दिदैं प्राथमिकताका साथ कार्य गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डे, नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिल कुमार सुवाल र चाँगुनारायण नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सिजन कार्की, स्वास्थ्य बुढ्यौली सहारा परियोजनाका कार्यक्रम संयोजक उमा थापा र नगरपालिकाका तर्फबाट सहारा परियोजना संयोजक दिनेश थापालगायतको सहभागिता रहेको थियो ।

उक्त स्वास्थ्य शिविरमा महिला पुरुष गरी १०६ जना जेष्ठ नागरिकहरूले स्वास्थ्य सुविधा लिनुभएको छ ।





