
दुवाकोट : चाँगुनारायण नगरपालिका–१ दुवाकोट सरस्वतीखेलको रोक्का गाउँ दुवाकोट सरस्वतीखेल बसपार्क माछा पालन बुद्ध मन्दिरसम्मको सडक स्तरोन्नतीको काम सुरु भएको छ ।

सोमबार चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उक्त सडकको स्तरोन्नतीको शिलान्यास गर्नु भएको हो । वागमती प्रदेश सरकारको एक करोड ५० लाख र चाँगुनारायण नगरपालिकाको एक करोड ५० लाख गरि समपुरक शिर्षक अन्तर्गत गरि कूल रु तीन करोडको लागतमा उक्त सडक स्तरोन्नती सुरु भएको हो ।
नगर प्रमुख खत्रीले दुवाकोटको बिकट मानिने स्वेल डाँडा अन्तर्गतको खण्डमा सडक स्तरोन्नतीको काम भइरहेको बताउदै रोक्का गाउँ र सरस्वतीखेलका बाँकी सडक पनि यसै आर्थिक वर्षभित्र स्तरोन्तती पुरा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँको बाँकी सडकको स्तरोन्नतीको काम पनि हामी यसैवर्ष पुरा गर्ने प्रयास गर्नेछौँ, समय नपुगे अर्को साल सबै सडक निर्माण पुरा गनेैछौँ । हाम्रो प्रतिबद्धता हामी पुरा गर्छौ । यो सडक निर्माणसंगै यहाँका बासिन्दालाई दैनिक जनजीवनका लागि सहज हुने विश्वास लिएका छौँ ।”

नगर प्रमुख खत्रीले निर्माण व्यवसायीलाई निर्धारित समयमै सडक निर्माणको काम पुरा गर्न निर्देशन समेत दिनुभयो । उहाँले कुनै बाहनामा सडकको काम नरोक्न र छिटो, छरितो एवं गुणस्तरीय आसप्लन्ट कालोपत्र सडक निर्माण गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा चानपा–१ दुवाकोट सरस्वतीखेलका वडाध्यक्ष सिजन कार्कीले समपुरक बजेट अन्तर्गत प्रदेश सरकार र नगरपालिकाको लागतमा निर्माण हुने यो सडकले स्थानीयको जनवीवन निकै सहज हुने बताउनुभयो । आजबाट सुरु भएको यो सडक आउँदो असार दोश्रो साताभित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको उहाँले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा वडा नंं १ का पूर्व वडाध्यक्ष राजेश खड्का र वडा नंं २ का पूर्व वडाध्यक्ष शिवहरि केसीलगायत स्थानीय तथा जनप्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो ।