
खरीपाटी । चाँगुनारायण नगरपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी योजना निर्माणका लागि छलफल भएको छ । वास शाखाको आयोजनामा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना निर्माणको लागि नगरस्तरीय प्रमाणिकरण तथा प्राथमिकीकरण कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा नगर प्रमुख जीवन खत्रीले कार्यक्रमले आगामी वर्षको योजना निर्माणमा सहयोग पुग्ने बताउनुभयो । तथ्यांक संकलन गहिरिएर अध्ययन गर्नुपर्नेमा जोड दिनुहुँदै मेयर खत्रीले नगरपालिकाले मनाउन लागिरहेको नगरकोट भ्रमण वर्ष २०८२ को तयारीमा जुट्न सबैमा आग्रह समेत गर्नुभयो ।

यही फागुन १५ गतेदेखि अभियान शूरु हुने बताउनुहुँदै नगर प्रमुख खत्रीले सार्वजनीक स्थलको सरसफाई, रंगरोगन र जनचेतनामूलक अभियान संचालन गर्नुपर्नेमा जोड पनि दिनुभयो । नगरपालिकाले नगरबासीलाई खानेपानीको पहुँचमा पुर्याउनका लागि खानेपानी बोर्ड गठन गरि अगाडि बढिरहेको मेयर खत्रीले जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले नगरपालिकाले खानेपानी तथा सरसफाईको क्षेत्रमा योजनाबद्ध ढंगले आफ्ना कार्य अगाडि बढाइरहेको बताउनुभयो । कार्यक्रममा वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले वास शाखाले धेरै राम्रा काम गर्दै आइरहेको बताउनुहुँदै वास योजना निर्माणले प्रभावकारी रुपमा कार्य अगाडि बढाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

वास शाखा प्रमुख सुरेन्द्र लामिछानेले ९ वटै वडाबाट तथ्यांक संकलन गर्ने कार्य सम्पन्न गरि योजना निर्माण अन्तिम चरणमा पुर्याएको जानकारी गराउनभयो ।

कार्यक्रममा योजना शाखा प्रमुख अनुप लामिछाने, विपद् ब्यवस्थापन शाखा प्रमुख दिनेश थापा, वडा नंं २ का वडाध्यक्ष सोम प्रधान, ४ का वडाध्यक्ष रोज बहादुर तामागं, ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठ र ९ का वडाध्यक्ष गणेश त्यातलगायत कार्यपालिका सदस्यहरु र विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।



