
नगरकोट: चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोटमा उपत्यका मेयर्स फोरमको एघारौ बैठक भब्यताका साथ सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नंं ६ स्थित होटल सोल्टीमा आइतबार आयोजित बैठक अहिलेसम्मकै ऐतिहासिक र भब्य रुपमा सम्पन्न भएको हो ।

सोही अवसरमा पहिलो पटक बागमती प्रदेश सरकार मुख्यमन्त्री सहित विभागीय मन्त्री सम्मिलीत बैठकमा स्थानीय तहका जननिर्वाचीत प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीच वित्तीय हस्तान्तरण, राजस्व बाँडफाड र अन्तरतह समन्वय सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

बैठकमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीचको आपसी सहकार्य, समन्वय गर्दै अगाडि बढ्ने विषयमा छलफल भएको हो ।

बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उपत्यका मेयर्स फोरसँग सहकार्य गर्दैै अगाडि बढ्न तयार रहेको बताउनुहुँदै त्यसका लागि नियमीत छलफल, अन्तक्रिर्या जस्ता कार्यक्रम गरिरहन आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री लामाले नगरकोट भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य भए धेरै क्षेत्रमा अगाडि बढ्न सहयोग पुग्ने बताउनुभयो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले पर्यटकीय नगरी नगरकोटको पर्यटन पबद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको नगरकोट भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै, अनौपचारिक कार्यक्रमपछि बसेको बैठकले काठमाडौं उपत्यकामा संचालीत सवारी साधनहरुको धुँवा प्रदुषण परिक्षण प्रविधि कार्यान्वयनमा ल्याउने, काठमाडौं उपत्यकाका अस्पालजन्य फोहोरमैला ब्यवस्थापन गर्ने निर्णय गरेको छ । साथै चाँगुनारायण नगरपालिकाले मनाउन लागिरहेको नगरकोट भ्रमण वर्ष २०८२ लाई पूर्ण रुपमा सफल बनाउन साथ दिदैं आआफ्नो तर्फबाट सहयोग गर्ने निर्णय पनि गरिएको छ ।

त्यस्तै, कीर्तिपुर नगरपालिकाका नवनिर्वाचीत प्रमुख तथा फोरमका सदस्य कृष्णमान डंगोललाई बैठकमा स्वागत समेत गरिएको थियो ।

बैठकमा धन्यवाद ज्ञापन गर्नुहुँदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले पर्यटकीय क्षेत्र नगरकोटमा मेयर्स फोरमको एघारौ बैठक आयोजना गर्ने सौभाब्य पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।

चाँगुनारायण नगरपालिकाले समग्र नगरपालिकाको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले नगरकोट भ्रमण वर्ष मनाउन लागिरहेको जानकारी गराउनुहुँदै त्यसका लागि आआफ्नो तर्फबाट सहयोग गरि सफल बनाउन सहयोगी भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो । साथै उहाँले भ्रमण वर्ष कार्यक्रमको नियन्त्रणा समेत दिनुभयो ।

मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनको सभापतीत्वमा सम्पन्न कार्यक्रममा उपत्यकाका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको थियो । साथै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठको पनि सहभागिता थियो । कार्यक्रम अहिलेसम्म कै भब्य र सभ्य रुपमा सम्पन्न गरेकोमा चाँगुनारायण नगरपालिकालाई धन्यवाद समेत ज्ञापन गरिएको थियो ।

यसअघि बैठकको औपचारिक कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले संचालन गर्नु भएको थियो भने नगर उपप्रमुख रमेश बुढाथोकीले स्वागत मन्तब्य राख्नुभएको थियो । सोही अवसरमा चाँगुनारायण नगरपालिकाको बृहत्त रुपमा तयार पारिएको वृत्तचित्र (डकुमेन्ट्री) समेत देखाइएको थियो ।

बैठकमा चाँगुनारायण नगरपालिकाका ९ वटै वडाका वडाध्यक्षहरु, कार्यापालिका सदस्यहरु र विभिन्न शाखा प्रमुखहरुको पनि सहभागिता थियो ।






















